जनकपुरधाम । मधेश कृषि विश्व विद्यालय, राजविराजको आर्थिक, प्रशासनिक, शैक्षिक गतिविधिको छानवीन गर्न गठित समितिले मंगलबार शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीलाई प्रतिवेदन बुझाएको छ । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहनप्रसाद साहको संयोजकत्वमा गठित तीन सदस्यीय छानवीन समितिले सो प्रतिवेदन मन्त्री तिवारीलाई बुझाएका हुन् । झण्डै २५ पेज लामो प्रतिवेदन संयोजक डा. साहले समितिका सदस्यहरुको उपस्थितिमा मन्त्री तिवारीलाई बुझाएका हुन् । गएको असार १३ गते तत्कालीन शिक्षा तथा संस्कृति मन्त्री राजकुमार लेखीले मन्त्रीस्तरीय निर्णय गर्दै मधेश कृषि विश्व विद्यालय, राजविराजको आर्थिक, प्रशासनिक, शैक्षिक लगायतको गतिविधि छानवीन गर्न प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. साहको संयोजकत्वमा तीन सदस्यीय छानवीन समिति गठन गरेका थिए । समितिले तोकेको समयसीमा भित्र प्रतिवेदन मधेश कृषि विश्व विद्यालय, राजविराजका सहकुलपति समेत रहेका शिक्षा तथा संस्कृति मन्त्री तिवारीलाई छानवीन प्रतिवेदन बुझाएको हो । मधेश कृषि विश्व विद्यालयको आर्थिक गतिविधि, कर्मचारी नियुक्ती, विद्यार्थी भर्ना प्रक्रिया लगायतको गतिविधि अपारदर्शी रहेको गुनासो बढेपछि तत्कालीन शिक्षा तथा संस्कृति मन्त्री लेखीले छानवीन समिति गठन गरेर एक साता भित्र प्रतिवेदन बुझाउन समयसीमा तोकेका थिए । समितिले तोकेको समयमा छानवीन पूरा गर्न नसकेपछि असोज ८ गतेसम्मको म्याद थप गरिएको थियो । छानवीन समितिमा वन तथा वातावरण मन्त्रालयका सचिव उद्धव बहादुर घिमिरे र शिक्षा तथा संस्कृति मन्त्रालयका सचिव महेन्द्र महतो सदस्य थिए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech