जनकपुरधाम । पिपल प्रोमोट सेन्टर(पीपीसी), जनकपुरधामको १६औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । वार्षिक साधारणसभामा वक्ताहरुले मधेशमा शिक्षा क्षेत्रको विकासमा गैरसरकारी संघसंस्थाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । सो अवसरमा मधेश प्रदेशसभा सदस्य कंचन विच्छाले शिक्षाको विकास भए मात्र प्रदेशको विकास सम्भव हुने तर्क गरिन् । कमलेशकुमार मण्डलको अध्यक्षतामा भएको उद्घाटन सत्रमा मातृभाषामा पाठ्यक्रमको विकास गरेर बालबालिकालाई आफ्नै भाषामा आधारभूत शिक्षा हासिल गर्ने नीति ल्याउनुपर्ने धारणा उनको थियो । प्राथमिक र माध्यमिक तहको शिक्षामा सुधार भए उच्च शिक्षा तहमा आफै सुधार आउने विश्वास उनले व्यक्त गरिन् । शिक्षा क्षेत्रको विकासमा प्रदेश सरकारले पनि आवश्यक कदम उठाउनुपर्ने भएकाले यसमा आफूले पहल गर्ने प्रतिबद्धता विच्छाले जनाइन् । सामाजिक रुपान्तरणको मूलआधार नै शिक्षा रहेकाले यसको विकासमा तीनै तहको सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको उनले उल्लेख गरिन् । सो अवसरमा खेलकूद तथा समाज कल्याण मन्त्रालयका उपसचिव देवकुमारी खत्रीले मधेशमा सामाजिक विकृति, अशिक्षा, हिंसा जस्ता घटना न्युनिकरणमा गैरसरकारी संघसंस्थाको भूमिका महत्वपूर्ण रहेको बताइन् । शिक्षाको विकास नभएसम्म सामाजिक विकृतिको अन्त्य गर्न सम्भव नरहेको उनले भनिन् ।
बालविवाह, दाइजो प्रथा, महिला हिंसा जस्ता सामाजिक विकृति अन्त्य गर्नको लागि शिक्षाको विकास आवश्यक रहेको उनले थपिन् । शिक्षा तथा संस्कृति मन्त्रालयका शाखा अधिकृत दिलिप मुखियाले शिक्षाको विकासमा सबैको हातेमालो आवश्यक रहेको बताए । शिक्षामा पछाडि परेको मधेश प्रदेशलाई अगाडि बढाउन सबै पक्षको सहयोग अपरिहार्य रहेको मुखियाको तर्क थियो । पीपीसीका जयवीर साहले संचालन गरेको उद्घाटन सत्रमा पत्रकार श्यामसुन्दर शशिले गैरसरकारी संघसंस्थाले पारदर्शी रुपमा कार्यक्रम संचालन गरेर आमजनताको विश्वास जित्नुपर्ने धारणा राखे । पीपीसीका उपाध्यक्ष जगदिश ठाकुरले स्वागत मन्तव्य राखेका उद्घाटन सत्रमा सल्लाहकार रत्नेश्वरलाल कर्ण, कैलाश दास लगायतले शुभकामना मन्तव्य राखे । सो अवसरमा संस्थाका आगामी प्रस्तावित कार्यक्रम प्रेमकान्त झाले प्रस्तुत गरेका थिए भने आर्थिक गतिविधि चन्दन रामले प्रस्तुत गरे । संस्थाले संचालन गरेको कार्यक्रमबारे पीपीसीका शिक्षा विज्ञ सितश तिवारीले प्रस्तुत गरेका थिए । युनिसेफको सहयोगमा पीपीसीले हाल गुणस्तरीय सिकाईका लागि स्थानीय तह तथा विद्यालयहरुको क्षमता अभिवृद्धि कार्यक्रम संचालन गरेको छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech