जनकपुरधाम । प्रदेशस्तरीय पोषण कार्यक्रमको वार्षिक समीक्षा तथा कार्ययोजना गोष्ठी आइतबारदेखि जनकपुरधाममा सुरु भएको छ । मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले गोष्ठीको उद्घाटन गर्दै पोषणबारे आवश्यक जानकारी नहुँदो प्रदेशमा बालबालिका कुपोषित हुने गरेको बताइन् । पोषण सामग्री घरमै रहेपनि आवश्यक जानकारी अभावमा बालबालिकालाई पोषणयुक्त भोजन दिन नसकिएको उनले बताइन् । स्वास्थ्य निर्देशनालयका निर्देशक डा. राजीवकुमार झाको अध्यक्षतामा भएको उद्घाटन सत्रमा मन्त्री तिवारीले पोषण सम्बन्धी व्यापक प्रचारप्रसारको आवश्यक्ता औंल्याइन् । पोषण सामग्री आफ्नै खेतबारीमा उत्पादन हुन्छ, उनले भनिन्–तर, तयारी गर्ने जानकारी नभएर पोषणबाट बञ्चित छन् । स्वास्थ्य निर्देशनालयले आयोजना गरेको सो गोष्ठीमा मन्त्री तिवारीले आमा नै सुरक्षित नरहेकाले बच्चा सुरक्षित कसरी हुन्छ भने प्रश्न तेस्र्याइन् । कम उमेरमा बिहे हुँदा आमा आफै असुरक्षित छन, उनले भनिन्–यस्तोमा बच्चा कसरी सुरक्षित हुन्छ ? आमा र बच्चा दुवैलाई सुरक्षित गरेर पोषण कार्यक्रम सफल पार्नुपर्ने तर्क उनले गरिन् । सो अवसरमा प्रदेशको समग्र पोषण कार्यक्रमबारे प्रस्तुत गर्दै स्वास्थ्य निर्देशनालयका पोषण सम्पर्क व्यक्ति बिनोद यादवले प्रदेशमा पोषणको अवस्थामा अझै सुधारको आवश्यक्ता औंल्याए ।
पोषण अभावमा ख्याउटेपन हुनेमा मधेश प्रदेश दोश्रो स्थानमा छ । लुम्बिनी प्रदेशमा सबैभन्दा बढी १९.६ प्रतिशत बालबालिका पोषण अभावमा ख्याउटेपनको शिकार भएको तथ्यांकले देखाएको छ । मधेशमा भने १०.३ प्रतिशत बालबालिका पोषण अभावमा ख्याउटेपनको शिकार भइरहेको यादवले प्रस्तुत गरेको विवरणमा उल्लेख छ । मधेशमा विद्यालय स्वास्थ्य पोषण कार्यक्रमले अपेक्षाअनुसारको परिणाम ल्याउन नसकेको यादवले बताए । यादवका अनुसार धनुषामा नियमित आइरनचक्की सेवन गर्ने किशोरीहरु ८ प्रतिशत मात्र रहेको छ भने २६ सातासम्म नियमित रुपमा सेवन गर्ने ५ प्रतिशत मात्र छ । प्रदेशका अन्य जिल्लाको तुलनामा धनुषाको अवस्था सन्तोषजनक नरहेकाले उनले यसतर्फ स्वास्थ्यकर्मीहरुको ध्यानाकर्षण गराए । सो अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पोषण शाखा प्रमुख पिताम्बर अधिकारीले परिवार कल्याणसम्बन्धी प्रस्तुतीकरण गरे । स्वास्थ्य निर्देशनालयका स्वास्थ्य प्रशासक सुनिता गुप्ताले स्वागत मन्तव्य राखेकी उद्घाटन सत्रमा नीति तथा योजना आयोगका सदस्य राजकुमार सिंह, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार डा. बिनोद यादव लगायतको उपस्थिति रहेको थियो । प्रदेशका आठै जिल्लाका स्वास्थ्य प्रशासक लगायत, पोषण शाखा प्रमुख, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि लगायतको सहभागिता रहेको गोष्ठी मंगलबारसम्म चल्नेछ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech