जनकपुरधाम । दीगो पोषण परियोजना सम्बन्धी प्रदेशस्तरीय पाठ सिकाई कार्यशाला गोष्ठी आइतबार जनकपुरमा सम्पन्न भएको छ । जर्मन कपरेशन र वेल्ट हङ्गर हेल्फ (डब्लुएचएच) को सहयोगमा आसमान नेपालले आयोजना गरेको गोष्ठीको उद्घाटन गर्दै मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंहले पोषण कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउनका लागि प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताए । मधेशमा पोषण अभावमा बालबालिका कुपोषित हुने गरेकाले यसप्रकारको समस्या समाधान गर्न गैरसरकारी संस्थाले ल्याएको कार्यक्रममा सहयोग गर्न प्रदेश सरकार तयार रहेको उनले बताए । स्वस्थ जनशक्ति नभएसम्म समृद्ध मधेश हुन नसक्ने भएकाले कुपोषणलाई अन्त्य गर्न सहयोगी संस्थाहरुसित समन्वय गर्न प्रदेश सरकार तयार रहेको उनले थपे । मधेशमा पोषण सामग्री घरमै हुँदा पनि जानकारी अभावमा बालबालिका कुपोषित भइरहेको उनले थपे ।
पोषणबारे जनचेतना जगाउन यस प्रकारको कार्यक्रम मधेशमा प्रभावकारी भएको जिकिर गर्दै मन्त्री सिंहले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । आसमान नेपालका अध्यक्ष रामप्रवेश यादवको अध्यक्षतामा भएको गोष्ठीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. संजय ठाकुरले पोषण सम्बन्धी समस्या समाधान गर्न खास रणनीतिको आवश्यक्ता औंल्याए । स्थानीय सरकारले पोषण कार्यक्रमलाई अघि बढाउन पूmड बैंकको स्थापना गर्नुपर्ने धारणा उनले राखे । मूठी चामल अभियान संचालन गरेर पोषण खानेकुरा गरिब जनतामा वितरण गर्नुपर्ने तर्क उनको थियो । सो अवसरमा डब्लुएचएचका कन्ट्री डाइरेक्टर साकेब नबीले पोषण कार्यक्रमलाई अगाडि बढाउन जर्मन सरकारको सहयोगमाा डब्लुएचएचले मधेशको पालिकाहरुमा कार्यक्रमहरु संचालन गरिरहेको जानकारी दिए । स्वस्थ जनशक्ति उत्पादन गरेर स्वदेशमै रोजगार सिर्जना गर्नुपर्ने धारणा उनको थियो । मुलुकलाई समृद्ध बनाउनका लागि युवा शक्तिलाई अधिकतम उपयोग गर्नुपर्ने उनले बताए । सिरहा जिल्लाको सिरहा, कर्जन्हा र कल्याणपुर नगरपालिकामा कमला जलाधार क्षेत्रमा उत्थानशीलता तथा पोषण सुरक्षा अभिवृद्धि परियोजना (दीगो पोषण) संचालन भइरहेको छ । ती पालिकाहरुमा पोषणको अवस्थाबारे आसमान नेपालका कार्यक्रम प्रबन्धक अशोक यादवले प्रस्तुतिकरण गरेका थिए । उक्त परियोजना संचालनमा आएपछि जीवनस्तरमा व्यापक सुधार आएको कर्जन्हा नगरपालिका–७ की भुमिहीन रामकली पासवानले बताइन् । रामकलीले स्वरोजगार सम्बन्धी तालिम लिएर चुडी, लहठीको व्यवसाय गरेकी हुन् । परियोजना समाप्त हुन लागेको सुनेर दुख लागेको रामकलीले थपिन् । उनीजस्तै कल्याणपुर नगरपालिकाकी रामपरी महराले परियोजनाले सीप सिकाएपछि आत्मनिर्भर भएको सुनाइन् । कल्याणपुर नगरपालिकाकै सविता महरा पनि आत्मनिर्भर भएर दंग छिन् । आफूहरुले आसमानको सहयोगलाई कहिल्यै नर्बिसिने सविताले भनिन् । गोष्ठीमा सिरहा नगरपालिकाका नगरप्रमुख डा. नविनकुमार यादव, कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह तेली र कर्जन्हा नगरपालिकाका नगरप्रमुख भोला प्रसाद पोखरेल, उपप्रमुख लक्ष्मी श्रेष्ठ, कल्याणपुरका उपप्रमुख रेखा कुमारी यादव, स्वास्थ्य निर्देशनालयका निर्देशक डा. राजीवकुमार झा, पोषण सम्पर्क पर्सन बिनोद यादव, स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादव, आसमान नेपालका कोषाध्यक्ष रेखा यादव, कार्यकारी निर्देशक नवल यादव लगायतको उपस्थिति रहेको थियो । स्वास्थ्य निर्देशनालयका पोषण सम्पर्क पर्सन बिनोद यादवले मधेश प्रदेशमा पोषण केन्द्रित कार्यक्रमबारे प्रस्तुतिकरण गरेका थिए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech