जनकपुरधाम । धनुषाको विदेह नगरपालिका र जनकनन्दनी गाउँपालिकामा बालविवाह विरुद्ध हस्ताक्षर संकलन अभियान अघि बढाइएकोछ । प्लान इन्टरनेशनल नेपालको आर्थिक र प्राविधिक सहयोगमा आसमान नेपालले संचालन गरेको बालविवाह न्युनिकरण परियोजना अन्तर्गत विदेह नगरपालिका र जनकनन्दनी गाउँपालिकामा हस्ताक्षर संकलन अभियान संचालन गरिएको हो । विदेह नगरपालिकाको वडा नं. २ मा शनिबार जनप्रतिनिधिहरुको उपस्थितिमा हस्ताक्षर संकलन गरिएको थियो । विदेह नगरपालिका वडा नं. २ का वडाध्यक्ष रामपुकार सहनी, वडा सदस्यहरु फिरन नदाफ, पुनम देवी महरा, कार्यपालिका सदस्य सुधिरा देवी चौधरी, विद्यालयका प्रअ धनिकलाल ठाकुर लगायतको उपस्थितिमा एक सय भन्दा बढी जनाको हस्ताक्षर संकलन गरिएको हो । उक्त वडाका १ सय ५० घरमा हरियो रंगको चिन्ह कोरिएको छ । हरियो चिन्ह कोरिएको घरका सबै बालबालिका विद्यालय जाने गरेको संकेत रहेको आसमान नेपालका फिल्ड सुपरभाइजर रामविनय यादवले बताए । यादवका अनुसार ती टोलमा बालविवाह विरुद्ध हस्ताक्षर संकलन र चिन्ह कोर्ने कार्यमा बाल अधिकार समितिका पदाधिकारी र सदस्यहरुले पनि सघाएका छन् । यता, शनिबार नै विदेह नगरपालिकाको वडा नं. २ मा पनि बालविवाह विरुद्ध हस्ताक्षर संकलन अभियान संचालन गरिएको छ ।
वडा नं. २ का जनप्रतिनिधिको उपस्थितिमा बालविवाह विरुद्ध सय जना बढी महिला र पुरुषहरुको हस्ताक्षर संकलन गरिएको छ । सो क्रममा ती वडाका १ सय ७५ घरधुरीमा पुगेर बालबालिका विद्यालय गएको छ वा छैन भने सुनिश्चित गर्ने कार्य गरिएको आसमान नेपालका फिल्ड सुपरभाइजर राजेन्द्र सदायले बताए । सदायका अनुसार सबै घरका बालबालिका शतप्रतिशत विद्यालय भर्ना रहेका छन् । हस्ताक्षर संकलन अभियानमा समाजका अगुवा राजेन्द्र मण्डल, अमिन्द्र मण्डल,स्वास्थ्य स्वयम्सेविका हिरादेवी मण्डल लगायतको उपस्थिति रहेको थियो । बालविवाह न्युनिकरण परियोजना अन्तर्गत बालबालिकालाई विद्यालय भर्ना र हस्ताक्षर संकलन अभियान संचालन गरिएको हो । सबैला, शहीदनगर नगरपालिका र कमला नगरपालिकामा बालविवाह विरुद्ध हस्ताक्षर संकलन अभियान संचालन गरिएको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech