जनकपुरधाम । जनकपुरधाम–११ मा संचालित हनुमान सामुदायिक सिकाइ केन्द्रको सातौं साधारणसभा सोमबार सम्पन्न भएको छ । साधारणसभालाई उद्घाटन गर्दै जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले पालिकामा साक्षर दर वृद्धि गर्न सामुदायिक केन्द्रहरुको भूमिका महत्वपूर्ण रहेको बताए । सामुदायिक सिकाई केन्द्रको संख्या वृद्धि गरेर पालिकाको सबै वडाहरुमा संचालन गर्नुपर्नेमा नगर प्रमुख साहले जोड दिए । हनुमान सामुदायिक सिकाई केन्द्र व्यवस्थापन समितिका अध्यक्ष उषा साहको अध्यक्षतामा भएको साधारणसभामा नगर प्रमुख साहले साक्षर सम्बन्धमा सरकारी तथ्यांकहरु यथार्थ नरहेको दावी गरे । जनकपुरधाम उपमहानगरपालिकामा करिब ८५ प्रतिशत साक्षर रहेपनि तथ्यांकले ८० प्रतिशत मात्र देखाएको उल्लेख गर्दै साहले तथ्यांकभन्दा यथार्थ फरक रहेको बताए । उपमहानगरपालिकालाई साक्षर घोषित गराउन सामुदायिक सिकाई केन्द्रको भूमिका महत्वपूर्ण हुने तर्क गर्दै उनले यसलाई निरन्तरतामा जोड दिए । सो अवसरमा शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख चेतकुमार पोखरेलले शिक्षा क्षेत्रमा भइरहेको कामको प्रतिफल नदेखिएको भन्दै चिन्ता व्यक्त गरे । अहिलेसम्म मधेशको एउटा पनि पालिका साक्षर घोषणा हुन सकेको छैन, उनले भने–तीन तहको सरकार र सहयोगी संस्थाहरुले पनि शिक्षा क्षेत्रमै काम गरेको छ । विगतको भन्दा शिक्षाको अवस्था अझै सुधार नआएको दावी गर्दै ठोस नीति बनाएर अघि बढनुपर्ने आवश्यक्ता उनले औंल्याए ।
सिंहदरबार गाउँमा आएदेखि शिक्षाको गुणस्तर झन खस्किएको बताउँदै पोखरेलले शिक्षकहरु समयमा तलब खान पनि आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएकोप्रति चिन्ता व्यक्त गरे ।
सो अवसरमा महिला सामुदायिक सिकाई केन्द्र यदुकोहाका अध्यक्ष लालबाबु हाथीले सामुदायिक सिकाई केन्द्रको भूमिकाबारे प्रष्ट पार्दै दलित, गरिब, विपन्न परिवारको बालबालिकालाई विद्यालयसम्म पुर्याउन सिकाई केन्द्रको भूमिका महत्वपूर्ण रहेको बताए । सामुदायिक सिकाई केन्द्रले साक्षर दर वृद्धि गर्न विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको जानकारी उनले दिए । सो अवसरमा हनुमान सामुदायिक सिकाई केन्द्रका परिचालिका मिनु कुमारी साहले संस्थाको प्रगति विवरणबारे जानकारी गराएकी थिइन् । केन्द्रका अध्यक्ष उषा साहले जनकपुरधाम उपमहानगरपालिकाको एउटा वडा आउँदो समयमा साक्षर घोषणा गराउने प्रतिबद्धता व्यक्त गरिन् । हनुमान सामुदायिक सिकाई केन्द्रले चाल शैक्षिक वर्षमा पनि वडा नं. ७ को २४ र वडा नं. ११ का ४१ गरी ६५ जना विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना गराएको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech