जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिका वडा नं. १ बालविवाह मुक्त वडा घोषणा हुने भएको छ ।
शहीदनगर नगरपालिका वडा नं. १ स्थित राप्रावि बालाबाखरमा सोमबार आयोजित अन्तरक्रिया कार्यक्रमले आउँदो मंसिर ५ गते ती वडालाई बालविवाह मुक्त घोषणा गर्ने निर्णय गरेको हो ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक र प्राविधिक सहयोगमा आसमान नेपालले संचालन गरेको बालविवाह न्युनिकरण परियोजना अन्तर्गत शहीदनगर नगरपालिका–१ लाई बालविवाह मुक्त वडा घोषणा गर्न लागेको हो ।
यसका साथै बालविवाह मुक्त घोषणा हुने वडा नम्बर १ शहीदनगर नगरपालिकाको पहिलो वडा हुने भएको छ ।
वडा नं. १ का वडाध्यक्ष तेजीलाल यादवको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख दिनेशप्रसाद यादवले पालिकालाई बालविवाह मुक्त घोषणा गराउन आफूहरुले सहयोग र सहकार्य गर्न तयार रहेको बताए ।
उमेर पुगेर विवाह गर्दा प्रोत्साहन स्वरुप पालिकाले २५ हजार रुपैयाँ नगद सहयोग गर्ने घोषणासमेत नगर प्रमुख यादवले गरेका छन् ।
उनले बालविवाह जस्तो सामाजिक कुरीति विरुद्ध समाजको सामूहिक सहयोग आवश्यक रहेकाले सबैलाई सहयोगको लागि आह्वान गरे ।
पालिकाले जति योजना ल्याएपनि कार्यान्वयन हुन सकेन भने त्यसको लाभ जनतालाई हुन सक्दैन, उनले भने–जनतालाई लाभ हुने गरी ल्याएको योजनामा सबैको सहयोग आवश्यक छ ।
त्यसैले बालविवाह जस्तो कुरीतिलाई समाजबाट निर्मूल गर्नका लागि सबैको सहयोग आवश्यक रहेको उनले थपे ।
सो अवसरमा राष्ट्रिय आधारभूत विद्यालयका प्रअ मोहन यादवले आफूहरुले विद्यालयमा प्रत्येक दिन एक घण्टी सामाजिक कुरीति बालविवाह र त्यसबाट हुने असर र समाधानको लागि छुट्टयाएको जानकारी दिए ।
यसले बालविवाह न्युनिकरणमा सहयोग पुगेको दावी प्रअ यादवले गरे ।
सो अवसरमा कार्यपालिका सदस्य सत्यनारायण यादव, मावि कुम्भकर्णका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुभेश्वर यादव, राष्ट्रिय प्राथमिक विद्यालय रमनगराका प्रअ अरुण ठाकुर लगायतले मन्तव्य राखेको आसमान नेपालका प्राविधिक संयोजक रितु तिवारीले जानकारी दिइन् ।
यसअघि वडास्तरीय बाल अधिकार समितिको अगुवाईमा ती वडामा बालविवाह विरुद्ध हस्ताक्षर संकलन कार्यक्रम गरिएको थियो । बालबालिका, किशोरी, महिलाहरुको सक्रिय सहभागितामा हस्ताक्षर संकलन अभियान गरिएको आसमान नेपालका प्राविधिक संयोजक तिवारीले बताइन् ।
शहीदनगरसहित धनुषाको पाँच वटा पालिकामा बालविवाह न्युनिकरण परियोजना संचालनमा छ ।

सम्बन्धित खवर