जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकाका युवाहरुले नमुना नगर सभाको अभ्यास गरेका छन् । निर्वाचित जनप्रतिनिधिहरुबीचको विवादले जिल्लामा नगरसभा पेचिलो बन्दै गर्दा शहीदनगर र सबैला नगरपालिकाका युवाहरुले नगरसभाको नमूना अभ्यास गरेका हुन् । निर्वाचन प्रक्रियाबाट सांकेतिक जनता नगरपालिकाको नगरप्रमुखमा सलामत आलम निर्वाचित भएपछि पालिकाको नगरसभा आयोजना गरिएको थियो । ३० जनाले मतदान गरेको निर्वाचनमा आलम १० मत ल्याएर निर्वाचित भएका थिए । उपप्रमुखमा भने मधु यादव सर्वसम्मतले निर्वाचित भइन् । पालिकाको पहिलो नगरसभामा कार्यपालिका सदस्यहरुले समाजमा देखिएको कुरीति विरुद्ध नगरप्रमुख र उपप्रमुखको ध्यानाकर्षण गराए । समाजमा भइरहेको बालविवाह, दाइजो प्रथा, बेरोजगारीको समस्या समाधान गर्न कार्यपालिका सदस्य सचिन यादवले माग गरे । सबैला नगरपालिका १० का सचिनले समाजमा बालविवाह भइरहेकोबारे जानकारी गराउन १०९८ मा निःशुल्क कल गर्नको लागि आग्रह गरे । नमुना नगरसभाको क्रममा युवालाई देशको संविधान नियम कानुन, संसदीय व्यवस्था र अनुशासन सिकाइ भविष्यमा असल नेतृत्व गर्ने बारे जानकारी गराएका थिए । युवा नेतृत्व, नगरबारे जानकारी, युवालाई व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको कार्य तथा अन्तरसम्बन्धको ज्ञान गराई असल संस्कार र सुझबुझपूर्ण व्यवहार सिकाउनका लागि तीन दिने तालिमको आयोजना गरिएको थियो । प्लान इन्टरनेशनल नेपालको आर्थिक र प्राविधिक सहयोगमा आसमान नेपालले संचालन गरेको बालविवाह न्युनिकरण परियोजना अन्तर्गत शहीदनगर नगरपालिकामा तीन दिने नमुना युवा नगरसभा आयोजना गरिएको हो । नगरसभाको तेश्रो तथा अन्तिम दिन मंगलबार सहभागीहरुले नगरसभाको डेमो अभ्यास गर्दै समाजमा समसामायिक विषयहरु उठाएका छन् । नमुना नगर सभामा शहीदनगर र सबैला नगरपालिकाका युवा सञ्जालका पदाधिकारी, विद्यार्थी, युवाहरुको सहभागिता रहेको थियो । नमुना नगर सभाका लागि रकी प्रसाद साहले प्रशिक्षण दिएका थिए । कार्यक्रममा सबैला र शहीदनगर नगरपालिका गरी ३० जनाको सहभागिता रहेको थियो । नमुना नगर सभा मध्ये अहिलेसम्मकै उत्कृष्ट नमुना सभा भएको सहभागी आशिक राउतले बताए । उनले अहिलेका युवा देशका भोलिका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि सम्पूर्ण जनप्रतिनिधि र कर्मचारी भएकाले अहिलेबाटै जिम्मेवार बनाउन कार्यक्रम महत्त्वपूर्ण रहेको उल्लेख गरे । यस्तो अभ्यासले युवाहरुमा व्यक्तित्व विकास हुने आसमान नेपालका प्राविधिक संयोजक रामकुमार महराले बताए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech