मलगंवा । सर्लाही प्रहरीले नक्कली नोटसहित दुई भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको बसबिटा ग्राम पञ्चायत रसुलपुर गाउँ बस्ने २६ वर्षीय कुन्नु पटेल र सोही ठाउँका ३० वर्षीय मुकेश पटेल रहेका छन् । उनीहरुलाई सीमावर्ती क्षेत्रस्थित गोडैता नगरपालिका–१२, मधुवनीबाट पक्राउ गरिएको सर्लाहीका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले जानकारी दिए । प्रहरीले उनीहरुको साथबाट फलामको घरेलु नलकटुवा पेस्तोल एक थान, केएफ–८ एमएम लेखिएको छ राउण्ड र केएफ–९ एमएम लेखिएको चार राउण्ड गोली बरामद गरेको छ । त्यस्तै १० वटा बण्डलमा रहेको एक हजार दरको नक्कली नोट र नोटभित्र हजारको नोटकै आकारमा काटिएको कागज बरामद भएको प्रहरी उपरीक्षक सिंहले बताए । एसपी सिंहका अनुसार कुन्नु र मुकेश दुवै जना नक्कली नोटको कारोबारमा सक्रिय गिरोहका सदस्य हुन् । प्रहरीसँगको प्रारम्भिक बयानमा उनीहरुले कुनै कुरा खुलाउन मानेका छैनन् । भारतको मेजरगन्जबाट सर्लाहीको गोडैतास्थित मधुवनीगाउँतर्फ आउने सडकमा अवैध हातहतियार र अवैध पैसाको कारोवार भइरहेको सूचना पाएपछि प्रहरी टोली परिचालन गरिएको थियो । कुन्नु र मुकेश पैदल हिँडेर नेपालतर्फ आउँदै गर्दा हातहतियार र नक्कली टोलसहित पक्राउ परेका हुन् । दुवै जनाविरुद्ध सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गोडैता नगरपालिकाको विभिन्न क्षेत्रबाट प्रहरीले बारम्बार नक्कली नोट र यसको कारोवारमा संलग्न व्यक्तिलाई पक्राउ गरिरहेको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech