जनकपुरधाम । धनुषाको विदेह नगरपालिका–५ मुरिबास्थित श्री राष्ट्रिय आधारभूत विद्यालयको चार कोठे भवनको शिलान्यास गरिएको छ । विदेह नगरपालिकाका नगरप्रमुख बेचन दासले बुधबार बिहान एक कार्यक्रमका बीच दुई तल्ले भवनको शिलान्यास गरेका हुन् । प्लान इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा आसमान नेपालले संचालन गरेको शिक्षा परियोजना अन्तर्गत चार कोठे भवन र छात्रछात्रा तथा अपांगता मैत्री शौचालय निर्माण गर्न लागेको हो । भवनको शिलान्यास गर्दै नगर प्रमुख दासले विद्यालयका लागि चार कोठे भवन निर्माण कार्यलाई ठूलो उपलब्धी बताए । विद्यालय भवन निर्माण भएपछि शिक्षा क्षेत्रमा ठोस सुधार आउने विश्वास उनले व्यक्त गरे । मुरिबा गाउँका लागि पनि यो महत्वपूर्ण प्रगति हो, नगर प्रमुख दासले भने–सबै क्षेत्रका प्रतिनिधिको उपस्थिति र योगदानले कार्यक्रमलाई अझै प्रभावकारी बनाएको छ । विद्यालयको चार कोठे भवन निर्माणले विद्यार्थीको सिकाइ वातावरणमा सुधार ल्याउन मद्दत पुर्याउने विश्वास नगर प्रमुख दासले व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नागेश्वर यादवले समापन गरेको शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य लखन दास र प्लान इन्टरनेशनल नेपालका रिया रिटोले आ आफ्नो मन्तव्य राखेका थिए । सो अवसरमा वडा नम्बर ५ का वडाध्यक्ष राधेश्याम गोइत, प्लान इन्टरनेशनल नेपालका केदार खतिवडा, प्रधानाध्यापक प्रदिप यादव, आसमान नेपालका कार्यक्रम निर्देशक दिनेश्वर साह, कार्यक्रम व्यवस्थापक दिलिप यादव, कार्यक्रम संयोजक संजय पासवान, इन्जिनियर संजय कुमार साह लगायतको उपस्थिति रहेको थियो । मावि बनरझुल्लामा पनि शिलान्यास
जनकनन्दनी गाउँपालिका–५ स्थित श्रीशंकर मावि बनरझुल्लाको चार कोठे भवनको बुधबार नै शिलान्यास गरिएको छ । एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष दिपिनदेव यादवले विधिपूर्वक भवनको शिलान्यास गरेका हुन् । दुई तल्ले भवनको भुईतल्लामा दुई र पहिलो तल्लामा दुई गरी चार वटा कोठा रह्ने छ । विद्यालय भवनको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष यादवले भवन निर्माण भएपछि पठनपाठनमा सहज हुने विश्वास व्यक्त गरे । बालबालिकाको शैक्षिक गुणस्तर सुधार गर्ने उद्येश्यले उक्त भवन निर्माण गर्न लागेको प्लान इन्टरनेशनल नेपालका कन्ट्री डायरेक्टर रामकिशनले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलिप कुमार गोइतले शिलान्यास कार्यक्रमको समापन गर्दै भवन निर्माण भएपछि पठनपाठनमा सुधार आउने विश्वास व्यक्त गरे । प्लान इन्टरनेशनल नेपालको आर्थिक र प्राविधिक सहयोगमा आसमान नेपालले शिक्षा परियोजना अन्तर्गत सो भवन निर्माण गर्न लागेको हो । यसअघि विदेह नगरपालिकाको मावि इटहर्वामा प्लान इन्टरनेशनल नेपालले शिक्षा परियोजना अन्तर्गत चार कोठे भवनसहित छात्रछात्रा र अपांगतामैत्री शौचालय निर्माण गरेको थियो । उक्त भवनको विदेह नगरपालिकाका नगरप्रमुख दासले उद्घाटन पनि गरिसकेका छन् । जनकनन्दनी गाउँपालिका–५ मा सम्पन्न शिलान्यास कार्यक्रममा विद्यालयका प्रअ प्रदिपकुमार यादव, वडा नं. ५ का वडाध्यक्ष अशोक मण्डल, वडा नं. ३ का वडाध्यक्ष विष्णुदेव साह, वडा नं. ६ का वडाध्यक्ष सुर्यदेव यादव, शिक्षा शाखा प्रमुख ऋषिकेश यादव, प्लान इन्टरनेशनल नेपालका क्षेत्रीय प्रबन्धक रबिशंकर पण्डित लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech