कलैया । बाराको कलैयास्थित रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख हरिभुषण कुशवाहा हत्याका मुख्य आरोपी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा आदर्शकोतवाल गाउँपालिका २ का ४१ वर्षीय सुरेन्द्र प्रसाद कुशवाहा छन् । उनी सेनाका भगौडा तथा गाँउघरमा सबैलाई त्रसित बनाउने पृष्ठभूमि भएको प्रहरीले जनाएको छ । घटना पश्चात फरार रहेका सुरेन्द्रलाई मोरङ्गबाट पक्राउ गरेर बारा प्रहरीले ल्याएको छ । बाराबाट खटिएको बिशेष टोलीले उनलाई बुधबार पक्राउ गरेर ल्याएको बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । क्याम्पस प्रमुख कुशवाहाको २ जेठ २०८१ साँझ आदर्शकोतवाल गाउँपालिका २ खजुरीया भन्ने ठाउँबाट कलैया तर्फ जाँदै गर्दा गोली प्रहार गरी हत्या भएको थियो । प्रहरीका अनुसार मृत्यु अघि पनि प्रमुख कुशवाहाले आफूमाथि सुरेन्द्रले गोली प्रहार गरेको खुलाएका थिए । सुरेन्द्र घटना पश्चात फरार रहेर भारतका विभिन्न स्थानमा लुकेर बस्दै आएका थिए । प्रहरीको अनुसन्धानमा हत्या घटनामा सुरेन्द्रसहित १७ जनाको संलग्नता रहेको खुलेको थियो । अनुसन्धानको क्रममा तत्कालै पक्राउ परेका चन्द्रमणी प्रसाद कुशवाहा, चाँदशी प्रसाद कुशवाहा, सुमेद कुमार कुश्वाहा, विनोद राउत कुर्मी, राधे कुमार पटेल, अबधलाल कुशवाहा, चुल्हाई भन्ने श्रबण कुमार साह, हरिन्दर महरा चमार, ब्रहमदेव राम, मोतीलाल चौधरी मध्ये राधेस कुमार पटेल र विनोद राउत कुर्मी कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बाराबाट धरौटीमा छुटेका छन् भने ८ जना पुर्पक्षको लागि कारागार चलान भएका छन् । उक्त घटनामा प्रयोग भएको हतियार पेस्तोल थान–२, गोली थान– ७ राउण्ड, मोटरसाईकल थान ४, मोबाईल थान– ४ थान, ल्यापटप थान– २, सिम कार्ड थान– ७ बरामद भएको थियो । पक्राउ परेका सुरेन्द्रमाथि ज्यान र हातहतियार खरखजना सम्बन्धि कसुरमा मुद्दा दर्ता भई प्रारम्भिक सुनुवाई समेत पुरा भएको डिएसपी सापकोटाले जानकारी दिए ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech