जनकपुरधाम । प्रारम्भिक सिकाई पढाई सम्बन्धी प्रअहरुलाई तीन दिने अभिमुखिकरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
धनुषाको शहीदनगर नगरपालिकास्थित श्रीविष्णु राप्राविमा आयोजित अभिमुखिकरण कार्यक्रममा प्रअहरुलाई पढाउने पूर्व तयारीबारे जानकारी गराइएको हो ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा आसमान नेपालले संचालन गरेको बालिका सशक्तीकरण (जीएसएस) परियोजना अन्तर्गत आयोजना गरिएको सो अभिमुखिकरण कार्यक्रममा शहीदनगर र कमला नगरपालिकाका १५ जना प्रअहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको तेश्रो तथा अन्तिम दिन शहीदनगरका बिल्ट किशुन आधारभूत विद्यालयका प्रअ राजदेव ठाकुरले कक्षाकोठामा बालबालिकालाई पढाउन जाँदा पूर्व तयारी गरेर जानुपर्ने बताए । उनले दैनिक पाठ्य योजना प्रस्तुत गर्दै शीर्षकदेखि पाठको बारेमा निर्धारित समयभित्र बालबालिकालाई सिकाउने खाका प्रस्तुत गरेका थिए । उनको खाकाप्रति कार्यक्रममा सहभागी अन्य विद्यालयका प्रअहरुले पनि सहमति जनाउँदै बालबालिकाको सिकाई पढाई शैलीमा सुधार ल्याउन प्रअले दैनिक योजना ल्याउनुपर्नलाई आत्मसाथ गर्नुपर्ने बताए ।
यस्तै सार्वजनिक आधारभूत विद्यालय नेमुवाटोलका प्रअ विजयकुमार दासले पनि दैनिक पाठ्य योजनाको खाका प्रस्तुत गर्दै अवको लक्ष्य यसै अनुसार निर्धारण गरिनुपर्नेमा जोड दिए ।
कमला नगरपालिकाको सराबेमा रहेको राष्ट्रिय प्राथमिक विद्यालयका प्रअ प्रतोष कुमार मिश्रले दैनिक पाठ्य योजना प्रस्तुत गर्दै आफ्नो सिकाई पढाईको योजन सम्बन्धी तर्क राखे । बालबालिकाको सिकाई उपलब्धी वृद्धि गर्न दैनिक पाठ्य योजना उपयोगी साबित हुन सक्ने श्रीजनता आधारभूत विद्यालय दुबरकोटका प्रअ राजदेव मण्डलले बताए ।
लैंगिक हिंसा विरुद्ध २५ नोभेम्बर महिनादेखि सुरु भएको १६ दिन अभियानमा जुड्न आवश्यक रहेको प्रअ मण्डलले बताए । सामाजिक विकृति विरुद्ध विद्यालयहरुमा अहिलेदेखि नै अभियान संचालन गर्दा बालबालिका सचेत हुने प्रअ मण्डलको तर्क छ । बालविवाह, महिला हिंसा जस्ता घटना न्युनिकरण गर्नका लागि बालबालिकालाई अहिलेदेखि नै यसको विरुद्धमा सचेत पार्नुपर्ने धारणा प्रअ मण्डलको थियो ।
१० डिसेम्बरसम्म संचालन हुने उक्त अभियानलाई अगाडि बढाउन विद्यालयको श्रोतसाधनले भ्याएसम्मको कार्यक्रमहरु गर्नुपर्नेमा प्रअहरुले जोड दिएको मण्डलले बताए ।
अभिमुखिकरण कार्यक्रममा प्रअ हुनुभन्दा चार वर्ष अगाडि र चार वर्ष पछाडिको अनुभव सेयर गर्दै विगतमा सहायकका भूमिकामा रहँदा प्रअहरुले देखाएको तानाशाहले पीडित हुनुपरेको अनुभव उनले सुनाए । अहिले आफूमाथि जिम्मेवारी हुँदा बालमैत्री वातावरण सिर्जना गरेर बालबालिकालाई विद्यालय आउन प्रेरित गरिरहेको मण्डलले सुनाए ।
आसमान नेपालका कार्यक्रम संयोजक संजिवकुमार साहले सहजीकरण गरेको अभिमुखिकरण कार्यक्रममा फिल्ड सुपरभाइजर विजयकुमार सदा र अम्बिका यादवले सहयोग गरेका थिए ।

सम्बन्धित खवर