जनकपुरधाम । धनुषाको सबैला नगरपालिका–१२ खैरबोना घर भएकी रंजिता कुमारी अधिकारीले सिलाइकटाई व्यवसायबाट राम्रो आम्दानी गर्ने गरेका छन् । उनले सबैला बजारमा आसमान लेडिज टेलर्स खोलेकी छन् । रंजिताले परम्परागत पेशालाई आधुनिक बनाउँदै लगेकी छन् ।
उनले भनिन्, ‘पहिले बुवा बाजेको पालामा लुगा सिलाएर अन्नपात लिने चलन थियो, त्यसले खाने गुजारा चलाउन पनि गाह्रो हुन्थ्यो, काम भने बर्षभरी गर्नुपथ्र्याे, उचित ज्याला मिल्दैनथ्यो, अहिले त्यसो हुँदैन नगद आम्दानी हुन्छ ।’ उमेरले २४ वर्षीया रंजिता सामान्य परिवारका सदस्य हुन् ।
सात किलोमिटर लामो यात्रा तय गरेर बिहान १० बजेसम्म उनी आफ्नो टेलरमा पुग्ने गरेकी छन् । उनी आफ्नो परिवारले धेरै समस्यासँग मुकाबिला गर्नुपरेको सुनाउँछिन् । खान लाउनसमेत धौधौ पर्न थाल्यो । उनी गरिबीका कारण धेरै पढ्न पनि पाइनन् । रंजिताले भनिन, ‘बुवाले ज्याला मजदुरी गरेर कमाएको खान लाउनमै ठिक्क हुने, खेतीपाती गर्न आफ्नो जग्गा जमीन पनि थिएन, आमाबुवा र दुई दाजु र एक बहिनी भएकाले पढाई खर्च जुटाउन पनि उत्तिकै समस्या थियो । अनि ८ कक्षा पढेर छोडेँ ।’
पढाई छोडेर उनले सिलाई कटाईको काम गर्न थालिन । घर परिवारले लुगा सिलाउने काम नगरेकाले यो पेशामा लाग्न उनलाई त्यति सहज थिएन् । तर, आसमान नेपाल नामक संस्थाले अवसर जुराएपछि सिलाई कटाई सम्बन्धी दुई महिने तालिम लिए । उनले भनिन्, ‘घरमा अग्रजले लुगा सिलाउने काम गर्दैन्थे, मैले उहाँहरुको सहयोग पाएर सिके । सिलाई कटाई सम्बन्धि तालिम लिइसकेपछि व्यवसायिक रुपमा टेलर खोल्न सजिलो थिएन्, उनले भनिन्– यसमा पनि आसमान नेपालले सघाएको छ ।
आसमान नेपालले मेशिन, कैंची, केही थान, कपडा, धागो, फर्निचर पनि सहयोग गरेको उनी सुनाउँछिन् । गएको पुस महिनादेखि टेलर संचालनमा आएदेखि फर्केर पछाडि हेरेको छैन् ।
तालिम लिएर उनमा आफ्नै सिलाई कटाईको पसल खोलेर काम गर्ने चाहना भयो । ‘आफूसँग सिलाउने सीप छँदै थियो,’ उनले भनिन्, ‘अरुको पसलमा काम गर्नुभन्दा आफ्नै पसल खोलेर काम गर्नुपर्छ भन्ने सोच आयो ।’
प्लान इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा आसमान नेपालद्वारा संचालित बालविवाह न्युनिकरण परियोजना अन्तर्गत तालिम लिएर रंजितासँगै निशा कुमारी दनुवार, अमिरिका कुमारी सदा, रंजिता कुमारी दनुवार, निरिशा कुमारीले पनि टेलर संचालन गरेकी हुन् । उनले भनिन, ‘सिलाई कटाई गरेको पैसाबाट घर खर्च चलाउन सहज भयो, भतिजोको पोशाक, स्टेशनरी लगायतको खर्च पनि तिर्न भ्याएकी छु ।
सिलाई कटाइबाटै घर खर्चमा सहयोग गर्दै आएकी उनलाई काम गर्ने सामानको भने कहिले अभाव हुन नदिएको आसमान नेपालका फिल्ड सुपरभाइजर आनन्द साहले बताए ।
उनलाई अहिले सिलाईको काम गर्ने सामाग्रीहरु सबै जुटेका छन काम गर्न धेरै सहज भएको र दिनमा ९ सयदेखि हजारसम्म कमाई हुने बताइन् । अवसर पाए युवा महिलाहरुले पनि आफ्नो र समाजका लागि राम्रो गर्न सक्छन, उनले भनिन्–अवसर नै पाउँदैन् । आफूले घरबाट १ घण्टाको यात्रा तय गरेर कार्य क्षेत्रमा आउने गरेको सुनाउँदै सिलाई कटाईबाट भएको आम्दानीले सन्तुष्ट रहेको उनी सुनाउँछिन् । उनको टेलरमा कुर्ता, सलवार, पेटीकोट, ब्लाउज, बालबालिकाको पोशाक सिलाउने बढी छन् । बदलिदो जमानासँगै नयाँ नयाँ डिजाइनको कपडाहरु सिलाई गर्नुपर्ने पेशाको चुनौती रहेको उनको अनुभव छ । पुरानै शैलीमा सिलेको कपडा ग्राहकले मन नपराए व्यवसायलाई अगाडि बढाउन समस्या हुने भएकाले माग अनुसारको सिलाई गर्नुपर्ने हुन्छ ।

सम्बन्धित खवर