जनकपुरधाम । एउटा कोठा, कोठाको भित्तामा लगाउने थरीथरी डिजाइनका कपडा झुण्ड्याइएको छ, कोठाको एक छेउमा लहरै ३ वटा सिलाई मेसिनमा युवा महिलाहरु कोहि कपडा काट्दै छन् त कोही सिलाउदै छन् । कोठाको अर्को छेउमा अमिरिका कुमारी सदा नयाँ आउने ग्राहकको कपडा नापजाँच गर्दै छिन् । यो दृष्य हो धनुषाको सबैला नगरपालिका–२ सबैला बजारमा रहेको आसमान लेडिज टेलर्सको । सबैला बजारमा सामूहिक रुपमा युवा महिलाहरुले लेडिज टेलर संचालन गरेकी छन् । तराई मधेशमा यतिखेर लगनगाँठोको बेला रहेकाले उनीहरुलाई पनि सिलाई कटाईको कामले भ्याइनभ्याई छ । गत वर्षदेखि सिलाई पेशा सञ्चालन गरेकी सबैला–४ पोठिया बल्टियाकी अमिरिका सदा आफूमात्र स्वरोजगार भएकी छैनन् उनीसँगै अन्य चार जनाले पनि सिलाई कटाई व्यवसायमा लागेकी छन् । आर्थिक रुपमा विपन्न दलित समुदायकी अमिरिकासँगै सबैला नगरपालिका–१२ की रंजिता अधिकारी, निशाकुमारी दनुवार, रंजिता कुमारी दनुवार र निरिशा कुमारीले सामूहिक रुपमा टेलर संचालन गरेकी हुन् । कपडा नाप्दै गरीकी अमिरिकाले मुस्काउँदै भनिन् ‘विगतमा आम्दानी नहुँदा अरुको मुख ताक्दा कति पीडा हुन्थ्यो आजभोलि आफैले कमाएर घर परिवार चलाउन पाउँदा खुशी लाग्छ ।’ आमाबुवा, हजुरबुवा र हजुरआमा, दुई जना बहिनी र दुई जना भाई रहेको परिवारमा अमिरिकाको योगदान अहिले महत्वपूर्ण बनेको छ । टेलर बन्द गरेर फर्किदा बजारबाट तरकारी लगायतका दैनिक उपभोग्य वस्तु र औषधीहरु लिएर जाने गरेकी अमिरिकालाई घर पुग्त तीन किलोमीटर लामो यात्रा तय गर्नुपरेको छ । धेरै गर्न नसकिएपनि सन्तुष्टिको लामो श्वास लिदै अमिरिकाले भनिन ‘काम गर्ने ईच्छा र आँट भयो भने कम पढेका महिलाले पनि आम्दानी गर्न सकिने रहेछ ,ग्राहकको सन्तुष्टिले झनै काम गर्ने जोश बढ्दोरहेछ ।’ ग्राहकले जस्तो भन्यो त्यस्तै डिजाइनका कपडा सिलाउने भएकाले पनि आसमान लेडिज टेलरप्रति ग्राहकको विश्वास बढ्दै गएको उनी बताउँछिन् । सामाजिक सञ्जालमा आएको डिजाईन ग्राहकले देखाउँदै यस्तै सिलाउने भन्छन् अमिरिकासँगै सिलाई गर्ने उनकी व्यवसायिक साझेदार रंजिता अधिकारी र निशा कुमारी दनुवारले पनि जस्ताको तस्तै बनाएर सिलाइ गरेर दिन्छन् । सामूहिक रुपमा सिलाई कटाई व्यवसाय संचालन गर्ने वातावरण भने आसमान नेपालले मिलाइदिएको छ । २०७९ को अन्त्यतिर प्लान इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा आसमान नेपालले संचालन गरेको बालविवाह न्युनिकरण परियोजना अन्तर्गत युवा महिलाहरुका लागि दुई महिने सिलाई कटाई तालिमको आयोजना गरिएको थियो । अमिरिकासँगै निशा, रंजितापनि तालिम लिएर आत्मनिर्भर हुन सिलाई कटाई व्यवसाय संचालन गर्न इच्छुक देखिएपछि सहयोग गरेको आसमान नेपालका फिल्ड सुपरभाइजर आनन्द साहले बताए । आसमान लेडिज टेलरमा कुर्ता सुरुवाल सिलाएको ३०० देखि पाँच सय सम्म लिने गरिन्छ । अमिरिकाले कपडाको डिजाईन र मेहनत अनुसार पैसा लिने गरेको बताइन् । मासिक पच्चीसदेखि तीस हजारसम्म आम्दानी हुने बताउदैँ अमिरिकाले भनिन्–मासिक भएको आम्दानीबाट कोठा भाडा, बिजुली लगायतको खर्च घटाएर सबै जनाले वाँड्ने गरेको छु । गत पुस महिनादेखि सामूहिक रुपमा संचालन गरिएको लेडिज टेलरबाट दुई जना साथीले विवाह पछि छाडिदिएको सम्झिदै अमिरिकाले निशा र रंजिता अधिकारीले साथ दिएको बताइन् । यो व्यवसायबाट यति नै बचत भयो भन्ने नभएपनि घरखर्च, भाइबहिनीको पढाइ लगायतका खर्चमा सहजता भएको उनी बताउँछिन् । मधेशमा बालविवाहले सानै उमेरमा विवाह गर्न बाध्य बालिकाहरुका लागि अमिरिकासँगै निशा र रंजिता उदाहरणीय बनेकी हुन् । दलित समुदायमा सानै उमेरमा विवाह गरिदिने बाध्यतालाई चिर्दै अमिरिकाले २४ वर्ष नाघिसकेपनि अभिभावकले विवाह गर्न दबाब नदिएको बताउँछिन् । मुसहर समुदायमा दाइजो र विवाह खर्च जुटाउन नसक्ने चिन्ताले अभिभावकले कलिलै उमेरमा छोरीको विवाह गरिदिने गरेको अमिरिकाको भनाइ छ । तर, आफूलाई घरमा यस प्रकारको दबाब नदिएको भन्दै अमिरिकाले राम्रो काम गर्दा अभिभावकले पनि साथ दिदो रहेछ । बालविवाहबारे आफूहरु सचेत रहेकाले नआफूले गरेको न अरु बालिकालाई सानै उमेरमा विवाह गर्न दिने अमिरिका बताउँछिन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech