जनकपुरधाम । धनुषाका उपप्रमुखहरुले स्थानीय सरकार संचालन ऐनलाई टेकेर आफूहरुले समाजिक रुपान्तरणतर्फ अघि बढेको बताएका छन् । ऐनले व्यवस्था गरे अनुसार प्रमुखले सहयोग गरेमा समाजिक रुपान्तरणलाई अघि बढाउन सहज हुने विश्वास उनीहरुले व्यक्त गरे । आफूहरु सेवा सुविधा लिनको लागि निर्वाचित भएको होइन, कमला नगरपालिकाका उपप्रमुख शिला मण्डलले भनिन्–जनताको काम गर्न आएको हो । संविधानमा भएको व्यवस्था अनुसार काम गर्न पाएमा जनताको असन्तुष्टि नरह्ने उपप्रमुख मण्डलले भनिन् । शहीदनगर नगरपालिकाको श्रीविष्णु आधारभूत विद्यालयमा धनुषाका उपमेयर र उपाध्यक्षसँग अन्तरक्रिया कार्यक्रममा उनीहरुले जनताको सेवकको रुपमा काम गर्न चाहेकाले यसमा प्रमुखहरुले सहजीकरण गरिदिनुुपर्ने माग गरिन् । बालविवाह न्युनिकरण परियोजना अन्तर्गत भएको अन्तरक्रिया कार्यक्रममा उपमेयर र उपाध्यक्षहरुले सिकाई आदान प्रदान गर्दै संविधानमा भएको व्यवस्था अनुसार आफूहरुले काम गर्न पाउनुपर्ने तर्क गरे । संविधानले नै उपाध्यक्ष/उपप्रमुख न्यायिक समितिको संयोजक रहने व्यवस्था गरेको छ । त्यसैगरी स्थानीय तह सञ्चालन ऐनले उपाध्यक्ष/उपप्रमुखलाई अध्यक्ष र प्रमुखको अनुपस्थितिमा निजको कार्यभार सम्हाल्ने, गैरसरकारी संघ, संस्थाका क्रियाकलापको समन्वय गर्ने, उपभोक्ता हित संरक्षणसम्बन्धी कार्य समन्वय गर्ने, योजना तथा कार्यक्रम अनुगमन तथा सुपरीवेक्षण गरी सोको प्रतिवेदन बैठकमा पेश गर्ने, सभा र कार्यपालिकाद्वारा गठित समितिहरूको काममा सहजीकरण र समन्वय गर्ने, सभा, कार्यपालिका तथा अध्यक्ष वा प्रमुखले प्रत्यायोजन गरेका वा तोकेका अन्य कार्य गर्ने व्यवस्था गरेको छ । धनुषा जिल्ला उपप्रमुख संजालका संयोजक समेत रहेका जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै सामाजिक विकृति विरुद्ध सबैले हातेमालो गर्नुपर्ने तर्क गरे । प्लान इन्टरनेशनल नेपालको आर्थिक एवम् प्राविधिक सहयोगमा आसमान नेपालले संचालन गरेको बालविवाह न्युनिकरण परियोजना अन्तर्गत आयोजित अन्तरक्रिया कार्यक्रममा शैक्षिक व्यवस्थापन सूचना प्रणालीको तथ्यांक अनुसार जिल्लाका पालिकाहरुको शैक्षिक अवस्था प्रस्तुत गरिएको थियो । पालिकामा जन्मदर्ता अभियान संचालन गरेर बालबालिकालाई जन्मदर्ता दिन सुझाएका छन् । उपप्रमुख किशोरी साहले पालिकामा जन्मदर्ताका लागि अभियान नै चलाउने योजना रहेको बताए । शहीदनगर नगरपालिकाका उपप्र्रमुख सुनिता सिंहले स्वागत गर्दै उपप्रमुखको काम, कर्तव्य र अधिकारबारे आमजनतालाई समेत जानकारी हुन जरुरी रहेको बताइन् । उपप्रमुखको अधिकार नरहेको भने जुन प्रकारले अफवाह फैलाइएको छ, उनले सिकाई अनुभव सुनाउँदै भनिन्–यसप्रकारको भ्रम हटाएर अघि बढ्नुपर्छ । कार्यक्रममा विदेह नगरपालिकाका उपप्रमुख आशा देवी झा, क्षीरेश्वरनाथका उपप्रमुख रचना माथेमा, मिथिलाका उपप्रमुख सुनिता सिंह बुढाथोकी, धनुषाधामका उपप्रमुख विद्यादेवी भुजेल, लक्ष्मीनियाँ गाउँपालिकाका उपाध्यक्ष फुलकुमारी यादव, बटेश्वर गाउँपालिकाका उपाध्यक्ष फुलकुमारी सिंह, जनकनन्दनी गाउँपालिकाका उपाध्यक्ष कमला सहगल लगायतको उपस्थिति रहेको थियो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech