जनकपुरधाम । पूर्वी धनुषाका युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक योजना अनुसारको सामग्री दिने भएको छ । धनुषाको शहीदनगर नगपालिका, कमला, सबैला र विदेह नगरपालिका तथा जनकनन्दनी गाउँपालिकाका २९ जना युवा महिलाहरुलाई व्यवसायिक योजना अनुसारको सामग्री दिने भएको हो । प्लान इन्टरनेशनल नेपालको आर्थिक एवम् प्राविधिक सहयोगमा आसमान नेपालले संचालन गरेको बालविवाह न्युनिकरण परियोजना अन्तर्गत उनीहरुलाई व्यवसाय संचालन गर्नका लागि जीवन उपयोगी सीप, व्यवसायी सम्बन्धी सीप र संरक्षण सीप सम्बन्धी तालिम उपलब्ध गराएको छ । आत्मनिर्भर हुनका लागि उनीहरु व्यवसाय संचालन गर्न उत्साहित छन् । बुधबार व्यवसाय संचालन गर्ने युवा महिलालाई अभिभावकसहित शहीदनगर नगरपालिकामा बैठक गरिएको छ । अभिभावकले व्यवसाय संचालनको लागि सहमति दिएपछि आवश्यक विधि पूरा गरेर ५५ हजार रुपैयाँ बराबरको सामाग्री उपलब्ध गराउने आसमान नेपालका रोजगार संयोजक दिलिप साहले बताए । युवा महिलाहरुले किराना, जुत्ताचप्पल, श्रृंगार लगायतका पसल संचालन गर्ने योजना बनाएका छन् । पसल संचालन गर्नका लागि कमला नगरपालिका र जनकनन्दनी गाउँपालिकाका ९÷९ जना, सबैलाका ५, विदेहबाट ४ र शहीदनगर नगरपालिकाका दुई जना युवा महिलाहरुले व्यवसायका लागि सामग्री लिन लागेका हुन् । सीभीए (कैश भाउचर असिस्टेन्स) विधिमार्फत उनीहरुले सामाग्री छनौट गरेपछि उपलब्ध गराउने रोजगार संयोजक साहले बताए । आर्थिक रुपले विपन्न, बालविवाहको जोखिममा रहेका बालिका, प्रत्याभूत परिवार, एकल महिला, हिंसा पीडित महिलाहरुलाई प्राथमिकतामा राखेर व्यवसायका लागि छनौट गरिएको साहले बताए । आर्थिक रुपले सब्बलीकरण, आत्मनिर्भर हुनका लागि व्यवसाय गर्न सामग्री नै उपलब्ध गराउन लागेको हो । विदेह नगरपालिका–१ झिझाकी २२ वर्षीया कल्पना कुमारी मण्डलले किराना पसल संचालन गर्ने तयारीमा छिन् । उनी पसल संचालनको लागि घरमै र्याक बनाएर राखेका छन् । सामग्री पाएलगत्तै व्यवसाय संचालन गर्ने उनले भनिन् । कक्षा ९ मा पढ्दा बालविवाहमा परेकी कल्पना आफ्नो भविष्यप्रति चिन्तित छिन् । घरपरिवारले सहयोग गरेकाले आफैले किराना पसल संचालन गर्न लागेको उनले भनिन् । बालविवाहमा पर्दा पढाईलाई ९ देखि अगाडि बढाउन नसक्ने चिन्ता थियो, उनले भनिन्–तर, श्रीमान र घरपरिवारको सहयोग पाएर अहिले ब्याचलरको पढाई गरिरहेको छु । श्रीमान कृष्णा मण्डल बैदेशिक रोजगारबाट फर्केर कल्पनाको हौसला बढाइरहेका छन् । सबैला नगरपालिका–३ की राधा कुमारी साहले तालिम लिएर फलपूmल व्यवसाय संचालन गर्ने तयारीमा छिन् । बुवाले फलफुल व्यवसाय गरिरहनुभएकाले आफू पनि त्यही व्यवसाय रोजेको राधाले भनिन् । फलफूल व्यवसाय कच्चा रहेपनि न्युनतम मुनाफा, सुमधुर व्यवहार गर्दा राम्रो गर्न सकिने राधाको तर्क छ । १२ पढेर छाडेकी राधाले व्यवसाय संचालन गरेर फेरी पढाईलाई निरन्तरता दिने सोच उनको छ । बालविवाह नगर्ने/नगर्न दिने सोच बनाएकी राधाले आत्मनिर्भर भएर अघि बढ्ने लक्ष्य राखेकी छिन् । राधासँगै जनकनन्दनी गाउँपालिका–५ बनरझुलाकी भारती कुमारी राउतले चप्पल जुत्ता पसल संचालन गर्ने तयारीमा छिन् । आमाले संचालन गरेकी किराना पसलमा साथ दिदै आएकी भारतीले जुत्ता चप्पल व्यवसाय पनि संचालन गर्ने तयारी गरेकी हुन् । बुवा रामसुफल राउत बैदेशिक रोजगारमा रहेकाले घरमा पसल संचालन आमासँगै आफूले गरिरहेको बताइन् । बैठकमा आसमान नेपालका लेखा तथा प्रशासनका निकेश मिश्र, रोजगार अधिकृत दिलिप साह, फिल्ड सुपरभाइजरहरु सबैलाका दुर्गा अधिकारी, विदेहका रामविनय यादव र रिंकु साह, शहीदनगर नगरपालिकाका सविता साह र रंजिता यादव तथा जनकनन्दनी गाउँपालिकाका राजेन्द्र सदायको उपस्थिति रहेको थियो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech