वीरगञ्ज । “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद“ भने नाराका साथ पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–१ मा चौथो सिद्धपुर गोल्डकप फुटवल सुरु भएको छ । श्रीबनशक्ती युवा क्लव सिद्धपुरले आयोजना गरेको प्रतियोगिताको उद्घाटन नेकपा (माओवादी केन्द्र) पर्साका नेता शिवकुमार साह तेलीले गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै नेता साहले खेलकुद मनोरञ्जनका साथै अनुशासित जीवन बिताउन सहयोग पुर्याउने गरेको बताए । खेलले हाम्रो जीवन शैलीलाई पनि अगाडी बढाउने काम गर्छ, उनले भने–खेलले स्वस्थ हुन समेत सहयोग पुर्याउँछ । स्थानीय स्तरमा पनि खेलाडीहरुले अवसर पाउनुपर्ने बताउँदै नेता साहले यसका लागि स्थानीय सरकारले पनि विभिन्न प्रतियोगिताहरुको आयोजना गर्नुपर्नेमा जोड दिए । खेलकै कारण हाम्रो मधेश प्रदेशलाई देशमा मात्र नभई बिदेशमा समेत चिनेको छ । निचुटा पर्सा र बकुलिया बारा बिच भएको उद्घाटन खेलमा बकुलिया विजयी भएको छ । पहिलो हाफमा बकुलिया बाराले गोल गरेर अग्रता लिएको केही समय नबित्दै निचुटा पर्साले पनि बराबरी गोल फर्काए । खेलको दोस्रो हाफमा बकुलिया बाराले गरेको दोश्रो गोल निर्णायक भयो । उद्घाटन खेल बकुलियाले २–१ ले जितेको छ । उद्घाटन खेलको बेष्ट खेलाडी बकुलिया बाराका अजय चौधरी भए । उनलाई नगदसहित पुरस्कृत गरिएको थियो । आठ वटा टोलीको सहभागिता रहेको उक्त प्रतियोगिता एक सातासम्म चल्ने छ । प्रतियोगिताको फाइनल खेल आउँदो आईतबार हुने छ । प्रथम हुने टिमलाई शिल्ड, प्रमाणपत्रसहित नगद दस हजार र दोस्रो हुने टिमलाई पाँच हजार पाँच सय नगदसहित पुरस्कृत गरिने भएको छ । पुर्व गाबिस अध्यक्ष लालदेव महतो उरावको अध्यक्षतामा भएको कार्यक्रममा इप्रका एकटङगा प्रमुख सई योगानन्द साह, सशस्त्र प्रहरी बल बागेश्वरीका प्रमुख चयमनारायण महतो, पुर्व वडा सदस्य रामा खा थारु, पारस महतो, शिवनाथ थारु, नेकपा (माओवादी केन्द्र) का प्रदीप चौधरी, हटन चौधरी, बिगा महतो, सिकेन्द्र सहनी, बमबहादुर पण्डित लगायतको सहभागिता रहेको थियो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech