जनकपुरधाम । शीतलहर तथा बाक्लो कुहिरोका कारण धनुषासहित मधेशका जिल्लाहरुको जनजीवन प्रभावित बनेको छ । तीन दिनदेखि एक्कासी चिसो बढ्नुका साथै शीतलहर र बाक्लो कुहिरोले आकाश छोप्नेक्रम नरोकिएपछि बुधबार मधेशका जिल्लामा मधुरो घाम पनि देखिएको छैन् ।
चिसोसँगै बहने हावाले पनि यस क्षेत्रका नागरिकमध्ये कमजोर घरसंरचना भएका परिवार अधिक प्रभावित भएको पाइएको छ ।
अत्यधिक चिसोका कारण अत्यावश्यक कामबाहेक नागरिक घरदेखि बाहिर निस्केको पाइँदैन भने कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि पातलिएको छ ।
मध्य पुसमा आएर शीतलहर सुरु भएसँगै मधेशका जनजीवन प्रभावित बनेको छ । अंग्रेजी नयाँ वर्ष २०२५ को पहिलो दिन एक्कासी बढेको चिसोले जनकपुरधाम बजारमा चहलपहल घटेको छ ।
बिहानैदेखि पारिलो घाम लागेर दिनभरजसो न्यानो नै हुने तराई क्षेत्रमा गएको तीन दिनदेखि एक्कासी शीतलहर चल्न सुरु भएको हो । जनकपुरधाममा बुधबार बिहान वर्षको सबैभन्दा बढी चिसो महशुस गरिएको छ ।
शीतलहर र बाक्लो हुस्सुका कारण अत्यावश्यक काम परेर बाहिर निस्कनुुपर्ने मानिस प्रभावित भएका छन् । किसान तथा मजदुरलाई पनि शीतलहरले चिन्तित बनाएको छ ।
बाक्लो हुस्सु र शीतलहरका कारण भिजिबिलिट कम भएर बुधबार जनकपुरधामबाट हुने उडान रद्द भएको छ । बुधबार मौसम सफा नहुँदा उडान रद्द गरिएको बुद्ध एअर जनकपुर स्टेशनले जनाएको छ । बुधबार रहेको बुद्ध एअरको पाँच वटै उडान रद्ध भएको छ ।
यता भिजिविलिटी कम हुँदा सवारी दुर्घटनाको जोखिम हुने भएकाले यात्रु तथा सवारी चालकलाई यस्तो मौसममा विशेष ख्याल गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले अनुरोध गरेको छ ।
चिसो अध्यधिक बढेपछि स्थानीय आफ्नो टोलको चोकचोकमा आफैँले जोहो गरेको दाउरा बालेर दिनभरि तापीबसेको देख्न सकिन्छ ।
लगातारको शीतलहर, हुस्सु र बाक्लो कुहिरोले जनजीवन सहित पशुपक्षी तथा बालीनालीसमेत प्रभावित भएको छ । चिसोकै कारण अहिले जिल्ला सदरमुकाम जनकपुरधामसहित जिल्लाको सहरी तथा ग्रामीण भेगमा आवतजावतमा कमी आएको जनाइएको छ ।
जिल्लाको विभिन्न बजारमा बाक्लो ऊनी कपडाहरुको बिक्रीमा बढोत्तरी भएको छ भने चिसोकै कारण जिल्लाको हाट बजारहरुमा मानिसहरुको उपस्थिति न्यून छ ।
लगातार बढ्दै गएको जाडोबाट सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी बढी प्रभावित भएका छन् । साथै आर्थिक रुपले कमजोर व्यक्तिहरु समेत बढ्दै गएको जाडोको प्रत्यक्ष मारमा परेका छन् ।

सम्बन्धित खवर