जनकपुरधाम । दुई दिवसीय जय ट्रफी एलिट कप क्रिकेट प्रतियोगिता अन्तर्गत जनकपुरधाममा भएको मधेश प्रदेश र बागमती प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । जीतका लागि एक सय ६४ रनको लक्ष्य पछयाउँदै बागमती प्रदेशले दोश्रो इनिङमा खेल सकिदासम्म ६ विकेट गुमाएर ९७ रन मात्र जोडेपछि खेल बराबरीमा टुंगिएको हो । बागमतीका लागि दोश्रो इनिंगमा ओपनर रित गौतमले २५ रन जोड्दा आशुतोषले १७ रनको योगदान गरे । पहिलो विकेटका लागि गौतम र आशुतोषले ४७ रनको साझेदारी गर्दै बागमतीको लागि ठोस सुरुवात गरे । इशान पाण्डेले खाता खोल्न नसक्दा उत्तम मगरले एक रन जोडे । शुभ कंसाकारले २३ रनको योगदान गरेका थिए । प्रतिश जीसीले १६ रन जोड्दा रोशन विकले ३ र नन्दन यादव एक रनमा नटआउट रहे । मधेशका लागि कप्तान हरिशंकर साहले तीन विकेट लिए भने रुपेश सिंह, अभिषेक तिवारी र रंजित कुमारले एक÷एक विकेट एकआपसमा बाँडे । यसअघि म्याचको दोश्रो दिन सोमबार मधेश प्रदेशले नौ विकेट गुमाएर दुई सय ११ रन बनाउँपाली इनिंग समाप्तीको घोषणा गरेको थियो । मधेशका लागि ओपनर मयान यादवले शतकीय इनिंग खेले । उनी जय ट्रफीमा शतक प्रहार गर्ने पहिलो खेलाडी पनि भएका छन् । एक सय ८ बलको सामना गरेका यादवले दुई छक्का र १२ चौकाको सहयोगमा १ सय ४ रन जोडे । अर्का ओपन हरिशंक साह मात्र ११ रन जोडेर आउट भए । निरज यादवले १७ बलमा तीन चौकाको सहयोगमा १७ रन जोडे । बागमती प्रदेशका बलर सन्दीप लामिछानेले पाँच विकेट लिए । टोलीका कप्तान समेत रहेका सन्दीपले १७ ओभमा एक मेडनराख्दै ८८ रन खर्चे । सुर्य तामांगले पनि दुई विकेट लिए । रिजन ढकाल र नन्दन यादवले एक एक विकेट हात पारे । यसअघि बागमती प्रदेशले दुई विकेटको क्षतिमा ३४ रनको स्थितिबाट दोश्रो दिनको खेल अघि बढाएको थियो । बागमतीका लागि नन्दन यादवले सर्वाधिक ४७ रन जोडे । दशौं नम्बरका ब्याट्सम्यान नन्दनले टोली अप्ठ्यारोस्थितिमा रहँदा जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै ५५ बलमा एक छक्का र ६ चौका प्रहार गरे ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech