जनकपुरधाम । जनमत नेतृत्वको मधेश प्रदेश सरकारले आउँदो माघ ५ गते सातौं बलिदानी दिवस मनाउने भएको छ ।
अधिकारको आन्दोलनमा शहादत प्राप्त गरेका शहीद परिवार र अंगभंग भएका तथा घाइतेलाई आर्थिक सहयोग दिएर सो दिवस मनाउने भएको हो ।
अर्थ मन्त्री सुनिल कुमार यादवले शहीद परिवार र घाइतेलाई आर्थिक सहयोग उपलब्ध गराउने सम्बन्धी फाइलमा तोकआदेश गरेसँगै यस वर्ष पनि आर्थिक सहयोग वितरण गर्ने पक्का भएको हो ।
गएको पुस २९ गतेको मन्त्री परिषद्को बैठकले माघ ५ गते मधेश प्रदेश सरकारले बलिदानी दिवस मनाउने निर्णय गरेको थियो ।
गृह, संचार तथा कानुन मन्त्रालय मातहत रहेका मधेशी शहीद प्रतिष्ठानले बलिदानी दिवसको आयोजना गर्दै आएको छ ।
बलिदानी दिवस मनाउनका लागि रातो किताबमै पाँच लाख रुपैयाँ बजेट छुटट्याएको थियो । तर, आर्थिक सहयोगका लागि भने अर्थ मन्त्रालयको सहमति अनिवार्य हो ।
यसअघिका सरकारले बलिदानी दिवसको अवसरमा शहीद परिवार, अंगभंग भएका र घाइतेलाई आर्थिक सहयोगसहित सम्मान गरेको थियो ।
विगतमा शहीद परिवारलाई तीन लाख रुपैयाँसहित सम्मान गरिएको थियो भने अंगभंग भएकालाई एकदेखि दुई लाखसम्म आर्थिक सहयोग उपलब्ध गराएको थियो ।
यही शनिबार मनाउन लागेको बलिदानी दिवस जनकपुरधामको महेन्द्रनारायण निधि सांस्कृतिक प्रतिष्ठानमा मनाउने भएको छ । आठै जिल्लाका शहीद परिवार र घाइतेहरुलाई जानकारी गराउने कार्य भइरहेको मधेशी शहीद प्रतिष्ठानका रामनरेश यादवले बताए ।
जनता समाजवादी पार्टी, नेपाल नेतृत्वको मधेश प्रदेश सरकारले गत वर्ष छैठौ बलिदानी दिवस बीरगंजमा मनाएको थियो ।
२०६३ सालमा भएको मधेश विद्रोहको सम्झनामा प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवस मनाउने गरेको छ ।
माघ ५ गते सिराहाको लहानमा रमेश महतोको गोली लागेर ज्यान गएपछि मधेशका सबै जिल्लामा आन्दोलन सुरु भएको थियो । यो दिनलाई स्मरण गर्दै लालबाबु राउत नेतृत्वको प्रदेश सरकारले विशेष कार्यक्रमको आयोजना गरी बलिदानी दिवस मनाउने निर्णय गरेको थियो ।
प्रदेश सरकार बन्नुअघि मधेश केन्द्रित दलहरुले आ–आफ्नो तरिकाले बलिदानी दिवस मनाउँदै आएका थिए । बलिदानी दिवसको अवसर पारेर माघ ५ गते प्रदेश सरकारले सार्वजनिक बिदा समेत दिने गरेको छ ।

सम्बन्धित खवर