जनकपुरधाम । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेला भर्न जाने नेपाली श्रद्धालुलाई सवारीसाधनको समस्या भएकोछ । निजी सवारी प्रयोग गर्दा झन्झटिलो र खर्चिलो पनि ।
खर्चिलो भएपनि श्रद्धालु निजी सवारी चढेर प्रयागराजतर्फ जान उत्साहित छन् । पुस २९ गतेदेखि प्रारम्भ भएको महाकुम्भमा सयौ श्रद्धालु स्नान गरेर फर्किसकेका छन् भने कयौलाई माघ पूर्णिमा र शिवरात्रीको साइत जुडेको छ । महाकुम्भ मेलाको अन्तिम अमृत स्नान महाशिवरात्रीको दिन हुनेछ ।
जनकपुरबाट सोझै अयोध्यासम्मको सवारी व्यवस्थापन भइदिदा श्रद्धालुलाई सहज मात्र हुने थिएन, सस्तो पनि हुने थियो ।
गएको साउन महिनामा नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले भदौ महिनादेखि जनकपुरधामबाट सोझै श्रीराम जन्मस्थल अयोध्यासम्म रेल सेवा संचालन हुने बताएका थिए ।
भदौ महिना बितेको पनि पाँच महिना भइसकेको छ, रेल संचालनको कुनै छाँट छैन् ।
रेल संचालन हुने समयसमेत झाले सार्वजनिक गरेपछि जनकपुरधामसहित वरपरका नागरिक विश्वास नगर्ने कारन पनि पाएनन् । भदौदेखि संचालन हुने भनिएको रेलबारे आगामी फेब्रुअरी २७ र २८ तारेखको दिल्लीमा हुन लागेको बैठकबाट केही टुंगो लाग्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक झाले जनकपुर संचारलाई बताए ।
दिल्लीमा हुन लागेको ज्वाइन्ट वर्किङ गु्रप(जेडब्लुजी) को बैठकबाट रेल संचालन सम्बन्धी कुनै टुंगो लाग्ने झाको विश्वास छ ।
रेल न नेपाल र न भारतमा मात्रै संचाल हुने हो, झाले भने–दुवै देशबीच एउटै रेल चल्ने भएकाले प्रक्रिया पुर्याउन समय लागेको हो ।
साउन महिनामा प्रक्रिया पूरा भएर भदौदेखि संचालन हुने बताएका झा पनि आफ्नो भनाईबाट पछि हटेका छन् ।
भन्सार, यात्रीको सुरक्षा, बीमा लगायतको गंभीर विषयहरु रहेकाले प्रक्रिया पूरा गर्न समय लागेको उनले भने–प्रक्रिया पूरा भएपछि दुवै देशबीच सम्झौता हुन्छ । त्यसपछि रेल संचालनमा आउने झाले थपे । साउन महिनामा महाप्रबन्क झाले सीताको जन्मस्थली जनकपुरधाम र भगवान श्रीरामको जन्मस्थान अयोध्यासम्म रेल सेवा संचालन हुने घोषणा गरेर राम्रै प्रशंसा पाए ।
तर, घोषणा गरेको ६ महिना बितिसक्दा पनि रेल सेवा संचालनमा नआएपछि महाप्रबन्धक झा भने अहिले प्रक्रियामा समय लागेको भनेर पछि हटेका हुन् ।
‘पहिलो चरणमा साताको एक दिन सेवा रहन्छ र यात्रुको चाप बढे दुई दिनसम्म सञ्चालन गर्ने योजना बनाइएको समेत झाले प्रष्टयाएका थिए । जनकपुरधामबाट प्रत्येक शनिबार दिउँसो १ः३० बजे जनकपुरधामबाट छुट्ने रेल अर्को दिन बिहान ४ बजे अयोध्या पुग्नेछ । त्यही रेल सोमबार साँझ ५ बजेबाट अयोध्याबाट फर्किएर मंगलबार बिहान ७ः३० बजे जनकपुरधाम पुग्ने गरी समयतालिका भारतीय रेल्वेलाई पठाइएको समेत झाले भन्न छुटाएका थिएनन् ।

प्राचीन मिथिलाको राजधानी जनकपुरधाम र भारतको अयोध्याबीच त्रेताकालदेखि सम्बन्ध रहेको ग्रन्थहरूमा उल्लेख छ । सदीयौँदेखि रहेको यो सम्बन्धका कारण दुवै ठाउँका धार्मिक पर्यटकको आउजाउ चलिरहन्छ । राम मन्दिर उद्घाटन भइसकेपछि जनकपुरधाम र अयोध्याबीच धार्मिक पर्यटकको संख्या बढेको छ ।


यता, २०७५ बैशाख २८ गतेका दिन जानकी मन्दिर परिसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगै हरियो झण्डा देखाएर जनकपुरधाम अयोध्या बस सेवाको उद्घाटन गरेका थिए ।
उद्घाटन भएको केहि महिनापछि एक निजी भारतीय कम्पनीले अयोध्याबाट जनकपुरधामको लागि बस सेवा संचालन गरे । बसले जनकपुरधामबाट अयोध्या जाने यात्री नै पाएन् । जसोतसो ९ महिनासम्म चलाएको बसबाट भारी घाटा हुँदा सेवा बन्द गरिएको जानकी यातायात प्रा.लि.का मनोज चौधरीले बताए ।
लामो समयदेखि बन्द जनकपुरधाम–अयोध्या बस सेवा नेपालबाट संचालन गर्ने तयारी भइरहेको छ ।
बस सेवा संचालन सम्बन्धी इजाजतको लागि ९ महिना अघि भारत सरकारलाई पठाएको पत्र हालसम्म प्राप्त नहुँदा बस चलाउनमा ढिलाई भएको चौधरीले बताए ।
मातारानी यातायात प्रा.लि.ले बस संचालन सम्बन्धी काउण्टर साइनका लागि कागजात भारत सरकारलाई पठाएको छ ।
हालसम्म नआइदिदा महाकुम्भ मेलाको अवसरमा संचालन गर्न नसकिएको चौधरीको तर्क छ । जनकपुरधामबाट प्रयागराजतर्फ गइरहेका श्रद्धालु पहिला अयोध्या, बनारसी हुँदै महाकुम्भ स्नान गर्न जाने गरेका छन् ।
जनकपुरधामबाट अयोध्याका लागि अहिले बस सेवा संचालनमा हुँदा श्रद्धालुलाई आवतजावत गर्न सजिलो हुने थियो ।
१४४ वर्षपछि प्रयागराजमा लागेको कुम्भ मेलामा करोडौ श्रद्धालुले स्नान गरिसकेका छन् । जनकपुरधामका श्रद्धालु निजी सवारी रिजर्व गरेर त्यसतर्फ गइरहेका छन् । जनकपुरधाम–अयोध्या बस सेवा उद्घाटन भएको ६ वर्ष बितिसक्दा पनि सरकारी निकायबाट कुनै पहल भएको छैन् ।
रेल सेवा संचालनबारे महाप्रबन्धक झाले भनेपनि यसतर्फ नेपाली पक्षबाट पनि ठोस पहल हुन नसकेको अहिलेसम्मको उपलब्धीले प्रष्ट हुन्छ ।

सम्बन्धित खवर