जनकपुरधाम । महिनावारीका बेला तनाव व्यहोरिरहेका छात्रालाई ‘रेष्ट रुम ’ (आराम कक्ष)स्थापनापछि सहज भएको छ । धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरस्थित दवारिका आधारभूत विद्यालयका छात्राका लागि अलग्गै ‘रेष्ट रुम’ स्थापना भएपछि उनीहरूलाई सहज भएको हो ।
‘महिनावारी कुनै समस्या होइन, यो त प्राकृतिक प्रक्रिया मात्र हो’ भन्ने नाराका साथ रेष्ट रुमको स्थापना भएपछि छात्राको विद्यालय नआउने समस्याको अन्त्य भएको हो । विद्यालयले महिनावारी हुँदा छात्रालाई पेट दुख्ने र सेनेटरी प्याडको समस्यालाई समाधान गर्नका लागि केही दिन अगाडि मात्र रुमको स्थापना गरी सञ्चालनमा ल्याएको छ । रेष्ट रुममा निःशुल्क प्याड उपलब्ध गराउँदै आएको छ ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक एवम् प्राविधिक सहयोगमा आसमान नेपालले संचालन गरेको बालविवाह न्युनिकरण परियोजना अन्तर्गत रेष्ट रुम संचालनमा ल्याउन आवश्यक सामग्री सहयोग गरेको छ । विद्यालयका छात्राले महिनावारी हुँदा धेरै कष्ट हुनुका साथै आफ्नो समस्या उजागर गर्न गाह्रो हुनाले विद्यालय आउन छाड्ने गरेको थियो ।
छात्रा रोशनी दनुवारले निःशुल्क प्याड लगायत आराम गर्न विद्यालयले नै कोठा उपलब्ध गराइएपछि अहिले सधैँ विद्यालय आउने गरेको बताइन् ।
यस्तै अर्का छात्रा सोनी साहले आफूलाई परेको समस्या शिक्षिकालाई भन्न सहज भएको र कपडाको सट्टा सफा प्याडले जोखिमलाई न्यूनीकरण गरेको बताइन् ।
आसमान नेपालले ओछ्यान, खाट, सेनेटरी प्याड, कुर्सी, पंखा, टेबल, दराज, तौलिया, तकिया, तन्ना, डस्टवीन लगायतको सामग्री उपलब्ध गराएको विद्यालयका प्रअ शम्भु कुमार यादवले बताए ।
उपलब्ध औषधिलगायत प्याड छात्राको अध्ययनमा हुने बाधालाई अन्त्य गर्न वितरण गरिएको प्रधानाध्यापक यादवले बताए ।
उनले छात्रालाई आइपर्ने समस्या सहजरुपमा भन्नका लागि विद्यालयकी फोकल पर्सन रिना यादवमार्फत जानकारी प्राप्त भई समाधान गर्ने कार्य गरिरहेको बताए । विसं २०२० मा प्राथमिक विद्यालयको रूपमा स्थापना हाल आधारभूतको रुपमा सञ्चालन भएको विद्यालयमा अहिले ५४३ विद्यार्थी अध्ययन गरिरहेका छन् । विद्यालयमा शिशु कक्षादेखि ८ कक्षासम्म अध्ययन हुने गरेको छ ।
बालबालिकाका लागि विद्यालयमा १० वटा खानेपानी र हात धुने व्यवस्था समेत गरिएको आसमान नेपालका फिल्ड सुपरभाइजर दुर्गा अधिकारीले बताइन् ।

सम्बन्धित खवर