जनकपुरधाम । संयोग नै हो । जनकपुरधामदेखि झण्डै ६ सय किलोमिटर टाढा भारत उत्तर प्रदेशको प्रयागराजमा महाकुम्भ समापन, मिथिलामा सुरु ।
महाशिवरात्रीको अवसरमा अन्तिम अमृत स्नानसँगै डेढ महिने महाकुम्भ विधिवत रुपमा समापन भएको एक दिन नबित्दै मिथिलामा १५ दिनसम्म चल्ने मध्यमा परिक्रमा बिहीबारदेख सुरु भएको हो । विश्वकै सबैभन्दा लामो पदयात्रा रहेको परिक्रमालाई मिथिलाको महाकुम्भ पनि भन्ने गरिएको छ ।
जनकपुरधामदेखि उत्तरपूर्वमा रहेको मिथिलाबिहारी नगरपालिका–८ मा अवस्थित मिथिला बिहारी मन्दिरको डोला प्रस्थान गरेसँगै परिक्रमा सुरु भएको हो ।
यस वर्ष भने मिथिला बिहारीको डोलाको मधेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले गरेकी छन् । बिहान मन्दिर परिसरमा आयोजित विदाई कार्यक्रममा सुवेदीले नेपाल र भारतको यात्राले दुवै देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
सो अवसरमा मिथिला बिहारी नगरपालिकाका नगर प्रमुख राजेन्द्र यादवले मिथिला बिहारी मठलाई धार्मिक पर्यकटीय स्थलको रुपमा विकास गर्न सहयोगका लागि प्रदेश प्रमुख सुवेदीलाई आग्रह गरेका थिए ।
शुभकामना मन्तव्य समापन लगत्तै बाजागाजासहित निस्केको डोलासँगै रहेका साधुसन्तहरुले जय मिथिलाबिहारीको जयकारा लगाउँदै जनकपुरधामतर्फ प्रस्थान गरेका छन् ।

मिथिला बिहारी मठबाट प्रारम्भ हुने गरेको मिथिला मध्यमा परिक्रमाप्रति श्रद्धालुको विश्वास बढ्दो रहेकाले यसमा सहभागी हुने गरेको मिथिला बिहारी मठका महन्थ रामनरेश वैष्णवले बताए ।
परिक्रमा आस्थाको धरोहर रहेका मिथिला मध्यमा परिक्रमाको शुभारम्भ आफ्नो गाउँठाउँबाट प्रारम्भ हुँदा स्थानीय उत्साहित हुनु स्वभाविक रहेको वडा नम्बर ८ का वडाध्यक्ष जीवछ यादवको तर्क छ ।
मिथिला बिहारीको डोला जनकपुरधामको रत्नसागरमा दिवा विश्राम गरेर जानकी मन्दिरमा दर्शन गर्दै हनुमान नगरमा रात्री विश्राम गर्ने छ । शुक्रबार बिहान मिथिला बिहारी र किशोरीजीको डोलासहित साधुसन्त, श्रद्धालु भक्तजनको लस्कर भारतको कल्याणेश्वरतर्फ प्रस्थान गर्ने छन् ।
१५ दिनमा नेपालको १ सय ७ र भारतको २६ गरी कुल १ सय ३३ किलोमिटरको पैदल यात्रा पूरा गरेर पुनः जनकपुरधाममा आएर फागु पुर्णिमाका दिन विधिवत रुपमा समापन हुने छ ।
अनेकतामा एकताको विशिष्ट उदाहरण रहेको मिथिला परिक्रमा फागुन प्रतिपदामा सुरु भई पूर्णिमाका दिन सम्पन्न हुन्छ । मिथिला महात्म्यका अनुसार मिथिलापुरीको यात्राफल राम्रो मानिन्छ ।

सम्बन्धित खवर