जनकपुरधाम । धनुषाको सबैला नगरपालिका–७ मटही टोलमा संचालित दु्रत सिकाई कक्षाले मुसहर समुदायका बालबालिका लाभान्वित भएका छन् ।
मुसहर टोलस्थित सामुदायिक भवनमा दैनिक संचालनमा रहेका दु्रत सिकाई कक्षामा ८ देखि १६ वर्ष उमेर समूहका मुसहर समुदायका बालबालिकाहरु पढ्ने गरेका छन् ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक एवम् प्राविधिक सहयोगमा आसमान नेपालले संचालन गरेको बालविवाह न्युनिकरण परियोजना अन्तर्गत सबैलामा विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन द्रुत सिकाई कक्षा चलाएको छ ।
बालबालिकाहरु अहिले कक्षा संचालन हुने समयमा सामुदायिक भवनमा कापी किताबसहित उपस्थित हुन गरेका छन् । केही दिन अघिसम्म काम नाममा पढ्न नचाहेकी बालिकाहरुको अहिले भने मानसिकता परिवर्तन भएको छ ।
१२ वर्षीया काजल कुमारी सदालाई अहिले विद्यालय जाने जागर चलेको छ । उनी आउँदो शैक्षिक वर्षको सुरुवातमै विद्यालय भर्ना हुन चाहेकी छिन् । कक्षा ४ मा नामाकरण गराएर नियमित विद्यालय जान्छु, काजलले भनिन्–शिक्षाले मात्रै जीवनस्तर उकास्छ । दैनिक कामकाजमा समय व्यतित गरेर आफ्नो भविष्य अन्धकारमा पार्न लागेको सम्झिदै द्रुत सिकाई कक्षाले शिक्षा आवश्यक रहेको महसुस गराएको काजलको भनाइ छ ।
उनीसँगै कक्षामा सहभागी २८ जना बालबालिकाहरु नियमित पढेर विद्यालय जाने तयारीमा जुटेका छन् ।
गएको सात महिनादेखि कक्षामा सहभागी भएर उनीहरुले आधारभूत शिक्षा हासिल गरेको सहजकर्ता रिपु कुमार यादवले बताए ।
अनिवार्य विषयबारे बालबालिकालाई आधारभूत शिक्षा दिइएको छु, रिपुले भने–सबै सहभागिले नाम, ठेगाना र किताब पढ्नसमेत जानेको छ ।
दैनिक दुई घण्टासम्म संचालन हुने द्रुत सिकाई कक्षामा पढन आएका बालबालिकाले सिक्न उत्साहित रहेको रिपुले थपे । तर, गृहकार्यलाई लिएर रिपु खिन्न हुन्छन् । गृहकार्य पूरा गरेर नआउँदा खिन्न लाग्छ । सम्झाई बुझाई गरेर आगामी दिनमा गृहकार्य गरेर ल्याउन प्रेरित गर्ने प्रयास गरेको छु, उनले भने । अभिभावकहरुले पनि आफ्नो बालबालिकाको भविष्यलाई लिएर सचेत हुनुपर्ने उनको तर्क छ । अभिभावकले घरमा थोरै ध्यान दिएमा बालबालिकाले गृहकार्य पूरा गरेर कक्षामा सहभागि हुन्छ ।
अभिभावकहरुले चासो नलिएको वडा नं. ७ का वडासदस्य समेत रहेकी स्थानीय कलशिया सदाले पनि स्वीकारिन् । कलशियाको पनि दुई जना नातिनी द्रुत सिकाई कक्षामा पढ्ने गरेकी छन् ।
१० वर्षीया राजवती कुमारी सदा र १३ वर्षीया रमिता कुमारी सदा सुरुदेखि नै द्रुत सिकाई कक्षामा पढ्दै आएकी छन् । राजवती आउँदो वर्ष कक्षा ४ मा स्थानीय आधारभूत विद्यालय मटहीमै नामाकरण गराउन इच्छुक छिन् । उनले आफू विद्यालय जान चाहेकोले आगामी वर्ष नामाकरण गराउन पहलको लागि आग्रह समेत गरिन् ।

सम्बन्धित खवर