जनकपुरधाम । सबैला बजार क्षेत्रमै स्थापित श्रीरामप्रसाद मावि परिसरको दक्षिण पश्चिम कुनामा ह्विलचेयर राखिएको छ । ह्विलचेयरमा आएकी १० वर्षीया जसोधा कुमारी यादव कक्षा कोठामा बसेकी छिन् । कक्षा ४ मा अध्ययनरत्त जसोधा जन्मदेखि नै अशक्त छिन् । आफ्नो खुट्टामा हिड्न नसकेकी उनलाई बहिनी रेखा कुमारी यादवले ह्विलचेयरमा विद्यालयसम्म आउन सहयोग गर्ने गरेकी छिन् । रेखा पनि कक्षा ४ मै पढछिन् । जसोधालाई ह्विलचेयरबाट उचाईमा रहेको कक्षाकोठासम्म जान पनि समस्या भएको छ । उठाएर माथि बरण्डामा ल्याउन सर(शिक्षक) हरुले सहयोग गरेको रेखाले सुनाइन् । खाजा, पानी ल्याइदिनेदेखि किताब, झोला व्यवस्थापनमा पनि रेखाको सहयोग छ । शारिरिक रुपले अशक्त जसोधालाई खडा हुनका लागि अरुको सहारा लिनुपर्ने बाध्यता छ ।
सहयोगी सामग्री उपलब्ध भएदेखि जसोधा विद्यालयमा नियमित रहेको शिक्षक सुरेश यादवले बताए । उनका अनुसार केही महिनादेखि जसोधा विद्यालयमा नियमित छिन् । सिकाई उपलब्धी सामान्य विद्यार्थी जस्तो नरहेपनि सिक्ने जसोधाको मानसिकता रहेको शिक्षक यादवले थपे । बैदेशिक रोजगारमा रहेका जसोधाका बुवा राजाराम यादव सहयोगी सामग्री प्राप्त भएदेखि छोरीलाई नियमित विद्यालय पठाउने गरेको सुनाए । तीन बहिनीमा जेठी रहेकी जसोधाको भाइ परविन्द्र यादवको विद्यालय जाने उमेर भइसकेको छैन् । आर्थिक अभावमा समयमै उपचार गराउन नसकेर जसोधा अशक्त भएकी सुनाउँदै बुवा राजारामले अव भने नियमित विद्यालय पठाउने बताए । आफू नहुँदा आमा रिता देवी यादवले पनि जसोधालाई ह्विलचेयरमा विद्यालयसम्म छाड्ने गरेकी छिन् । अक्सर बिना काम खाली समय कटाउँदै आएकी जसोधा अव घरमा पनि पढ्ने गरेकी छिन् । मानसिक तथा शारिरिक अपाङ्गता भएकी जसोधा बिहान १० बजे विद्यालय पुग्ने गरेकी छिन् । कुनै कुरामा ध्यान दिन नसक्ने, स्थिर भएर नबस्ने, आवेगमा उसको सामु जे छ फ्ँयाक दिने जस्ता अस्वभाविक व्यवहार थियो उनको । तर, व्यवहारमा पनि परिवर्तन देखिएको जसोधाका सहपाठीहरु सुनाउँछन् । “अहिले हाम्रो कुरा सुन्छ, निर्देशन मान्छ, ऊ आफै शौच जाने, नुहाउने र ब्रस गर्ने गर्न,” बुवा राजारामले सुनाए “नेपाली बर्णमालाका केही अक्षर चिन्न सक्ने भएको छ ।
सबैला नगरपालिका–२ का राजाराम यादवको जेठी छोरी जसोधालाई विद्यालयमा नियमित हुन आसमान नेपालको भूमिका कम छैन् । प्लान इन्टरनेशनल नेपालको आर्थिक एवम् प्राविधिक सहयोगमा आसमान नेपालले संचालन गरेको बालविवाह न्युनिकरण परियोजना अन्तर्गत जसोधालाई विद्यालय जानका लागि ह्विलचेयरसहित पोशाक, शैक्षिक सामग्री उपलब्ध गराएको छ । सहयोगी सामग्रीको उपलब्धता हुँदा आफूहरुपनि जसोधालाई विद्यालय पठाउन हौसिएको बुवा राजारामले सुनाए । जन्मैदेखि अपांगता रहेकी जसोधालाई विद्यालयका सहपाठी र शिक्षकबाट सहयोग प्राप्त हुने गरेपनि संरचनाले अप्ठ्यारो भएको छ । उक्त विद्यालयको कक्षाकोठाहरु अपांग मैत्री नहुँदा जसोधालाई ह्विलचेयर लिएर कक्षाकोठासम्म जान समस्या भएको छ । पुरानो भवनहरु अपांग मैत्री नरहेको विद्यालयका प्रअ सुरेन्द्र यादवले बताए । विद्यालयमा १० जना अपांगता भएका विद्यार्थीहरु अध्ययनरत्त छन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech