जनकपुरधाम । मन्त्री सत्रुधन प्रसाद सिंहको बदनियतले मधेशको स्वास्थ्य क्षेत्र अस्तव्यस्त भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहले आर्थिक वर्ष सम्पन्न हुन साढे चार महिनाको समय नरहद महिनैपिच्छे गरिरहेको कर्मचारी सरुवाले स्वास्थ्य क्षेत्र अस्तव्यस्त भएको हो । चालु आर्थिक वर्षको आठ महिना बित्नै लाग्दा प्रदेश सरकारले औषधी खरिद गर्न सकेको छैन् । औषधि खरिद, स्वास्थ्य औजार, सिटी स्क्यान मेशिन खरिदका लागि प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रले गरेको २२ वटा टेण्डरमध्ये सात वटा खारेज गरिएको छ । गएको मंसिर महिनामा ती सामग्री खरिद गर्न टेण्डर सूचना प्रकाशन गरिएको थियो । टेण्डर प्रक्रिया अगाडि बढाएर छनौटमा परेको आपूर्तीकर्ताको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी भइरहदा केन्द्रका निर्देशक डा. सुनिल कुशवाहाले रद्द गरेका छन् । रद्द गरिएको टेण्डर पुनः गर्दा असार मसान्तसम्मको समय लाग्ने भएको छ । रद्द गरिएको टेण्डरमा त्रुटि रहेको बताइएको छ । तर, प्यासिफिकेसन अनुसार त्रुटि नदेखाई सोझै रद्द गरिएकाले प्रक्रिया नै गलत रहेको एक कर्मचारीले बताए । ७२ करोड बजेट रहेको आपूर्तीको दुई वटा टेण्डरमा मुद्दा अदालतमा विचाराधिन रहेकाले करिब ३० करोडको सामग्री खरिद हुनेमा शंका छ । मन्त्री सिंहले स्वार्थ पूरा गर्नका लागि प्रादेशिक अस्पताल सिरहाका मेडिकल सुपरिडेन्टेन्ट डा. सुनिल कुशवाहालाई आपूर्तीको थप जिम्मेवारीमा जनकपुर ल्याएका छन् । गएको असोज महिनामै स्वास्थ्य निर्देशनालयबाट सरुवा गरेर आपूर्तीमा ल्याएको डा. राजीव झालाई मन्त्रालय तानिएको छ । स्वास्थ्य मन्त्राललयमा नवौ तहका कर्मचारी राजेश मिश्र निमित्त सचिवको भूमिकामा रह्दा दशौ तहका डा. झा जिम्मेवारविहीन छन् ।
आपूर्ती केन्द्रमा बजेट बढी रहेकाले मन्त्री सिंहले विश्वास पात्र कर्मचारीलाई त्याहा पठाएको कर्मचारीहरु बताउँछन् । केही दिन अघि मात्र मन्त्री सिंहले अन्य कार्यालयबाट दुई जना कर्मचारीलाई आपूर्तीमा ल्याएका थिए । आपूर्तीमा नेकपा एमाले धनुषाका नेताहरुको पनि गिद्धे नजर रहेको छ । धनुषाका एक एमाले नेता आफ्नो उपस्थितिमै आपूर्तीमा कर्मचारी सरुवाको रबाना बनाउन लगाउने र आएकालाई हाजिर गर्न लगाउने गरेका छन् । आपूर्तीले करिब ४२ करोडको २२ वटा टेण्डर आह्वान गरेको थियो । सात वटा रद्द गरिएको सूचना समेत प्रकाशन गरिसकिएको छ भने अन्य १५ वटाको पनि प्रक्रिया अघि नबढाउने दावी एक जना कर्मचारीले गरे । रद्द गरिएको टेण्डर सेटिङमा नेकपा एमालेका नेता सुन्दर भुसाललाई दिने आन्तरिक तयारी रहेको श्रोतको दावी छ । तत्कालीन सामाजिक विकास मन्त्री नवलकिशोर साहले कार्य सम्पादनमा कमजोर देखिएका निर्देशक कुशवाहालाई दुई वर्ष मन्त्रालयमा थन्काएका थिए । मन्त्रालयबाट लहान अस्पताल हुँदै कलैया सरुवा भएका कुशवाहा केही दिन अघि मात्र सिरहा अस्पतालमा मेसुको जिम्मेवारी सम्हालेका हुन् । कार्य सम्पादनमा कमजोर मानिएका कुशवाहालाई थप जिम्मेवारी दिएर आपूर्ती ल्याउँदा त्याहाँ कार्यरत्त डा. झालाई मन्त्रालयमा जिम्मेवारविहीन बनाइएको छ । मन्त्री सिंह जातीय समीकरण मिलाएर मन्त्रालय संचालन गरिरहेको आरोप कर्मचारीहरुले लगाएका छन् । मन्त्री सिंहलाई मन्त्रालयमा आफ्नो अनुकूलको कर्मचारी ल्याउनमा जनमत पार्टीका बसन्त कुशवाहाले पनि सघाएको श्रोतको दावी छ । जनकपुरको एक होटलमा बास बस्ने गरेका पूर्व कृषि मन्त्री समेत रहेका कुशवाहाको सहमति बिना कर्मचारीको सरुवा र जिम्मेवारी थप्ने कार्य हुने गरेको छैन् । केही दिन अघि मुख्यमन्त्री सतिशकुमार सिंहले निजी अस्पतालको अनुगमन गरेर चर्चामा आएका थिए । तर, सरकार मातहत रहेको निकायको भद्रगोलतर्फ मुख्यमन्त्री सिंह उदासिन छन् । जनमत पार्टीले नेकपा एमालेले सहयोग नगरेको आरोप लगाउँदै आएपनि मधेशमा कर्मचारी सेटिङमा दुवै दलका मन्त्री र सांसद सहमत छन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech