जनकपुरधाम । जनकपुर यातायात व्यवस्था कार्यालय तथा अत्याधुनिक ट्रायल सेन्टरको भुमिपुजन (शिलान्यास) गरिएको छ ।
जनकपुरधामको ज्ञानकुप स्कुल अगाडि सीता कुण्डले उपलब्ध गराएको एक विग्हा जग्गामा जनकपुर यातायात व्यवस्था कार्यालय तथा अत्याधुनिक ट्रायल सेन्टर को भुमिपुजन गरिएको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले बिहीबार संयुक्त रुपमा भुमिपुजन गरेका छन् ।
यातायात व्यवस्था कार्यालय लामो समयदेखि मुजेलियास्थित भाडाको भवनमा संचालन हुँदै आएको छ ।
पाँच महिना अगाडि मात्रै जनकपुर आएका कार्यालय प्रमुख धनन्जय सिंहले सीता कुण्ड मातहत रहेका १ विग्हा जग्गा कार्यालयको लागि व्यवस्थापन गरेका हुन् । गुठी संस्थान काठमाण्डौमा जग्गा दिने सम्बन्धी सम्झौता भएपछि यातायात व्यवस्था कार्यालय भवन र अत्याधुनिक ट्रायल सेन्टर निर्माणका लागि भुमिपुजन कार्य सम्पन्न भएको हो ।
यसै आर्थिक वर्षदेखि निर्माण कार्य सुरु हुने कार्यालय प्रमुख सिंहले बताए । मुजेलियास्थित निजी जग्गामा रहेको ट्रायल सेन्टर यातायात कार्यालय भाडामा प्रयोग गर्दै आएको छ ।
आफ्नै भवन र ट्रायल सेन्टर निर्माण भएपछि प्रदेश सरकारको व्यय भार पनि घट्ने भएको छ ।

सम्बन्धित खवर