जनकपुरधाम । धनुषाको विदेह नगरपालिका–५ मुडिबाको नबका टोललाई बुधबार एक समारोहका बीच बालविवाह मुक्त टोल घोषणा गरिएको छ ।
मुडिबा नबका टोलमा आयोजित एक समारोहका बीच विदेह नगरपालिकाका नगर प्रमुख बेचन दास, उपप्रमुख आशा देवी झा र वडा नं. ५ का वडाध्यक्ष राधेश्याम गोइतले संयुक्त रुपमा बालविवाह मुक्त र सतप्रतिशत बालबालिका विद्यालय भर्ना टोल घोषणा गरेका हुन् ।
प्लान इन्टरनेशनल नेपालको सहयोग तथा आसमान नेपालको समन्वयमा वडास्तरीय बालअधिकार समितिले आयोजना गरेको समारोहमा वक्ताहरुले बालविवाह विरुद्ध समाजका सबै पक्ष एकजुट भएपछि अभियान सफल भएको बताए ।
सो अवसरमा नगर प्रमुख दासले विदेह नगरपालिकाको दोश्रो टोलको रुपमा मुडिबा बालविवाह मुक्त घोषणा भएकोमा धन्यवाद ज्ञापन गर्दै अन्य टोल र वडाहरुलाई पनि बालविवाह मुक्त गरिने घोषणा गरे ।
बालविवाह नभए समाज विकसित हुने तर्क गर्दै शिक्षित समाज बनाउन बालविवाह चुनौती बनेको दासले बताए ।
अव मुडिबा टोलमा बालविवाह हुन नदिने जिम्मा सबै अभिभावकको रहेकाले यसमा उनले सचेत समेत गराए । २० वर्ष पूरा गरेर विहे गर्ने गैर दलितलाई १५ हजार र दलितलाई प्रोत्साहन स्वरुप २० हजार रुपैयाँ दिने योजना आगामी आर्थि वर्षदेखि सुरु गरिने नगर प्रमुख दासले घोषणा गरे ।
सो अवसरमा उपप्रमुख झाले बालविवाह महिलाहरुको लागि अभिषाप बनेको बताउँदै यसतर्फ मुडिबाबासीले गरेको प्रयास सराहनीय रहेको बताइन् । पालिकाको मुडिबा पहिलो बालविवाह मुक्त टोल हुन सफल भएकोमा वडाध्यक्षसहित सम्पूर्ण टोलबासीमा बधाई ज्ञापन गर्दै अन्य टोलहरुमा पनि यस प्रकारको अभियानलाई तीव्र पार्नुपर्नेमा उनले जोड दिइन् ।
उक्त टोल यसअघि सबैभन्दा बढी बालविवाह हुने टोलको रुपमा परिचित थियो । अबका केही दिनमा अन्य गाउँमा पनि बालविवाह मुक्त घोषणा गर्न अहिले प्रत्येक गाउँ टोलबाट पहल गर्न थालिएको आसमान नेपालका कोषाध्यक्ष रेखा यादवले बताइन् ।


वडाध्यक्ष राधेश्याम गोइतको अध्यक्षतामा आयोजित समारोहमा वडा सदस्य कुशेश्वर मुखिया, कार्यपालिका सदस्य, राप्रावि मुडिबाका प्रधानाध्यापक प्रदिपकुमार यादव, स्वास्थ्य चौकीका इन्चार्ज बिनोद शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सो अवसरमा स्थानीय शम्भु गोइतले मुडिबा टोलमा रहेको ६१ घरधुरी ४ देखि १२ वर्ष उमेर समूहका बालबालिका १ सय ५४ जना रहेको जानकारी दिए । सबै बालबालिका विद्यालय भर्ना भइसकेको गोइतले बताए ।
बालविवाह न्युनीकरण परियोजना अन्तर्गत धनुषाको विदेह नगरपालिकासहित कमला नगरपालिका, शहीदनगर नगरपालिका, सबैला नगरपालिका र जनकनन्दनी गाउँपालिकामा विभिन्न कार्यक्रमहरु संचालन गरिएको छ ।
यसअघि विदेह नगरपालिकाको चिकना टोल केही दिन अघि मात्र बालविवाह मुक्त टोल घोषणा भएको थियो ।
नेपाल सरकारले बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति, २०७२ पारित गरी आगामी सन् २०३० सम्म नेपालबाट बाल विवाह अन्त्य गर्ने लक्ष्य लिएकामा अहिले ‘विहावारी २० वर्ष पारी’ नारालाई सार्थक बनाउन थालिएको छ ।
सो अवसरमा राजनीतिक दलका स्थानीय प्रतिनिधि, आसमान नेपालका कार्यक्रम व्यवस्थापक दिलिप यादव, प्राविधिक संयोजक रितु तिवारी, फिल्ड सुपरभाइजरहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर