जनकपुरधाम । धनुषा जिल्लाको दुई स्थानीय तहका चार टोललाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । स्थानीय तहले वडास्तरमा सञ्चालन गरेको बालविवाहविरुद्धका अभियानलाई मुर्हुत रुप दिदै पूर्वी धनुषाको जनकनन्दनी गाउँपालिका र विदेह नगरपालिकाको दुई/दुई वटा टोल बालविवाह मुक्त घोषणा गरिएको हो ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक एवम् प्राविधिक सहयोगमा आसमान नेपालले संचालन गरेको बालविवाह मुक्त परियोजना अन्तर्गत ती टोलहरुलाई बालविवाह मुक्त घोषणा गरिएको हो ।
जनकनन्दनी गाउँपालिका–५ को बनरझुला र उदहा टोललाई बुधबार एक कार्यक्रमका बीच बालविवाह मुक्त टोल घोषणा गरिएको हो ।
शंकर मावि बनरझुलामा आयोजित कार्यक्रममा जनकनन्दनी गाउँपालिकाका उपाध्यक्ष कमला सहगलले दुवै टोल बालविवाह मुक्त भएको घोषणा गरिन् ।
परियोजनाको सहयोगमा पूर्वी धनुषामा हालसम्म दुई स्थानीय तहका चार टोल बालविवाह मुक्त घोषणा भइसकेको आसमान नेपालका कार्यक्रम व्यवस्थापक दिलिप यादवले जानकारी दिए ।
उनका अनुसार जनकनन्दनी गाउँपालिकाका वडा नं. ५ का बनरझुला र उदहा टोल तथा विदेह नगरपालिकाको मुडिबा र चिकना टोल बालविवाह मुक्त घोषणा भइसकेको छ ।

पछिल्लोपटक बुधबारमात्रै जनकनन्दनी गाउँपालिकाको वडा नं ५ का दुई वटा टोललाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो । गाउँपालिका उपाध्यक्ष सहगलले पालिकाका अन्य टोल हुँदै वडाहरु बालविवाह मुक्त घोषणा गरिने बताइन् ।
बालविवाह जस्तो सामाजिक विकृति विरुद्ध सबै समुदाय एकजुट भएर अघि बढ्नुको विकल्प नरहेको उनले थपिन् । पालिकामा बनरझुला र उदहाबासीले गरेमा हुन्छ, भने यथार्थलाई प्रष्टयाएको उनले भनिन् । उहाँहरुबाट अन्य टोलबासीले पनि पाठ सिकेर यो अभियानमा सहयोग गरेमा चाँडै अन्य टोलहरु बालविवाह मुक्त घोषणा हुने विश्वास उनले व्यक्त गरिन् ।


वडा नं. ५ का वडाध्यक्ष अशोक कुमार मण्डलले बनरझुलाको २ सय र उदहाको २ सय ५५ घरधुरीका बालबालिकामध्ये शारिरिक र मांसिक रुपमा अपांगता रहेका बाहेक सबै विद्यालयमा नियमित रहेको बताए ।
दुवै टोलमा ४ देखि १२ वर्ष उमेर समूहका बालबालिकाहरु विद्यालय भर्ना रहेकाले सतप्रतिशत बालबालिका विद्यालय भर्ना टोल पनि घोषणा गरिएको हो ।
टोललाई बालविवाह मुक्त घोषणा गर्न स्थानीय तहमा बालअधिकार समिति गठनसम्बन्धी कार्यविधि, बालविवाह अन्त्यसम्बन्धी रणनीति, बाल संरक्षण नीति र पालिका बालअधिकार संरक्षण समिति तथा विद्यालय र वडास्तरमा बालअधिकार समिति क्रियाशील थियो ।
बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका अनुसार वडामा १० प्रतिशतभन्दा कम बालविवाह भए बालविवाह मुक्त घोषणा हुने प्रावधान रहेको वडाध्यक्ष मण्डलले बताए ।
जनचेतनाको कमी, जातीय विभेद, आर्थिक अभाव, गरिबी र बेरोजगार, सामाजिक परम्परा, अशिक्षा, धर्म र संस्कार, कुसंस्कार, पुरानो रीतिरिवाज, पुरुष प्रधान समाज, पारिवारिक दबाब, कानून थाहा नपाएर, साथीहरूको देखासिकी र प्रेम विवाह, सामाजिक सञ्जाल र मोबाइल दुरुपयोगलगायत कारणले बालविवाह हुँदै आएकोले यसको विरुद्धमा सबै समुदाय एकजुट हुनुपर्नेमा वडा नं. ४ का वडाध्यक्ष दिलिपकुमार यादवले जोड दिए । सो अवसरमा शिक्षा शाखा प्रमुख ऋषिकेश यादवले बेटी पढाउ, बेटी बचाउ अभियान निर्देशिका अनुसार २० वर्ष पूरा गरी १२ कक्षा उत्तिर्ण भएका छात्रालाई प्रोत्साहन स्वरुप २५ हजार नगद दिने जानकारी दिए ।
सो अवसरमा बनरझुला माविका प्रधानाध्यापक प्रदिपकुमार यादवले दुवै टोलको शैक्षिक प्रगतिबारे प्रकाश पारेका थिए ।
राप्रावि उदहाका प्रअ दुर्गा प्रसाद मण्डल, पालिकाका बाल कल्याण अधिकारी भरत यादव, राप्रावि उदहाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलिप कुमार गोइत, वडा सचिव सुरेश यादव, प्लान इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत पुजा शर्मा, आसमान नेपालका प्राविधिक संयोजक घुरन यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सो अवसरमा आसमान नेपालका फिल्ड सुपरभाइजर, ब्रम्हदेव यादव, राजेन्द्र सदाय लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर