जनकपुरधाम । धनुषाको विदेह नगरपालिका–२ को दुहबी नवदुर्गा टोल शनिबार बालविवाह मुक्त घोषणा गरिएको छ । विदेह नगरपालिकाका उपप्रमुख आशा कुमारी झाले एक कार्यक्रमका बीच दुहबी नवदुर्गा टोललाई बालविवाह मुक्त घोषणा गरेकी हुन् । वडा नं. २ का वडाध्यक्ष रामपुकार मुखियाको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर उपप्रमुख झाले दुहबी नवदुर्गा टोल अव बालविवाह मुक्त भएको बताउँदै यसको कार्यान्वयनमा सबै पक्षलाई गम्भीर हुन आग्रह गरिन् । पालिका भित्रका टोल हुँदै वडालाई बालविवाह मुक्त घोषणा गरिने नगर उपप्रमुख झाले बताइन् । उनले भनिन्–नेपाल सरकारले २०३० सम्म नेपाललाई बालविवाह मुक्त मुलुक घोषणा गर्ने राष्ट्रिय आकांक्षा र दीगो विकासको लक्ष्य अनुरुपलाई आत्मसात गर्दै पालिकालाई नै बालविवाह मुक्त घोषणा गर्ने अभियान अगाडि बढाइएको छ । पहिला यहाँका गाउँमा बालविवाह हुनेको संख्या बढी हुने गरेको थियो । स्थानीय सरकार र गैरसरकारी संघसंस्थाको सहकार्य समन्वयमा गाउँदेखि विद्यालयमा सचेतनाका कार्यक्रमले गर्दा आज आएर यस्तो नतिजामुखि परिणाम आएको उनले भनिन् । अशिक्षा, गरिबी, देखासिकी र परम्परागत कारणले मधेशमा सबैभन्दा बढी बाल बालविवाह हुने गरेकाले यसको विरुद्ध सबैले आ आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने धारणा उनको थियो । घोषणाको कार्यान्वयनका साथै अन्य टोल र वडालाई बालविवाहमुक्त घोषणा गर्ने चुनौती थपिएको छ । भौतिक विकासले मात्रै समाज रूपान्तरण सम्भव छैन । सामाजिक सशक्तीकरण, बालविवाह जस्ता कुरीति अन्य नगरी समृद्ध समाज निर्माण हुन्न । हामी सामाजिक रुपान्तरणको अभियानमा छौ । समग्र पालिकालाई नै जिल्लाकै पहिलो पालिकाका रुपमा बालविवाहमुक्त घोषणा गर्ने लक्ष्य राखेका छौ,’ उपप्रमुख झाले भनिन् । ६५ घरधुरी रहेको उक्त टोलका सतप्रतिशत बालबालिका विद्यालय जाने गरेको बलाविवाह मुक्त टोल घोषणा गर्ने क्रममा संकलन गरिएको तथ्यांकले देखाएको छ । विदेह नगरपालिकाको दुहबी नवदुर्गा बालविवाह मुक्त घोषणा हुने तेश्रो टोल हो । यसअघि चिकना र मुडिबा टोल बालविवाह मुक्त घोषणा भइसकेको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक एवम् प्राविधिक सहयोगमा आसमान नेपालले संचालन गरेको बालविवाह न्युनिकरण परियोजना अन्तर्गत विदेह नगरपालिकाको तीन वटा टोल बालविवाह मुक्त घोषणा गरिएको हो । पालिकाको दुर्गम गाउँलाई बालविवाह मुक्त टोलमा परिमार्जन हुँदा यहाँका सबै स्थानीयवासि,राजनीतिक दल, बालक्लब, आमा समुह, युवाक्लब, प्रहरीको भुमिका महत्वपूर्ण रहेको वडाध्यक्ष मुखियाले बताए । विवाह उमेर समूहका २० वर्ष मुनिका कुनै पनि बालबालिकाले विवाह नगरेको सर्वेक्षणले भेटाएपछि दुहबी नवदुर्गा टोललाई बालविवाह मुक्त गाउँ घोषणा गरिएको आसमान नेपालकी प्राविधिक संयोजक रितु तिवारीले बताइन् । उक्त वडामा २० वर्षमुनिका कसैले पनि विवाह गरेको नपाइएको तिवारीले बताइन् । सो अवसरमा कार्यपालिका सदस्य सुधिरा देवी झा, कार्यपालिका सदस्य शत्रुधन राई, वडा नम्बर २ का वडा सदस्य पुनम महरा, आसमान नेपालबाट फिल्ड सुपरभाइजर राम विनय यादव, सुरेश मण्डल, रिंकु कुमारी साह, निलम रानी लगायतको उपस्थिति रहेको थियो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech