जनकपुरधाम । धनुषाको विहेद नगरपालिकाका टोलहरु धमाधम बालविवाह मुक्त घोषणा हुन थालेको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक एवम् प्राविधिक सहयोगमा आसमान नेपालले संचालन गरेको बालविवाह न्युनिकरण परियोजना अन्तर्गत विदेह नगरपालिकाको टोलहरु धमाधम बालविवाह मुक्त घोषणा हुन थालेको हो । एक साता नबित्दै उक्त नगरपालिकाको तीन वटा टोल बालविवाह मुक्त घोषणा भएको हो । विदेह नगरपालिका–७ को नवटोली टोल सोमबार बालविवाह मुक्त घोषणा गरिएको छ । यसका साथै बालविवाह घोषणा हुने विदेह नगरपालिकाको चौथो टोल नवटोली बनेको हो । यसअघि दुहवीको नवदुर्गा टोल, मुडिवा र चिकना बालविवाह मुक्त टोल घोषणा भइसकेको छ । नगर उपप्रमुख आशा देवी झाको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमका बीच नवटोलीलाई बालविवाह मुक्त टोल घोषणा गरिएको हो । वडाध्यक्ष राजकिशोर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख झाले बालविवाह मुक्त टोल घोषणा गराउनमा आमाहरुको भूमिका महत्वपूर्ण रहेको बताइन् । आमाहरु सक्रिय भएपछि मात्र यो अभियान सफल भएको उनले टिप्पणी गरिन् । सो अवसरमा वडाध्यक्ष सिंहले बालविवाह मुक्त टोल घोषणा भइसकेकाले अव यस प्रकारको घटना हुँदा कानून बमोजिम कारबाही हुने जानकारी दिए । बालविवाह विरुद्ध सबै जना सचेत भए अव यस प्रकारको घटनाहरु नहुने विश्वास उनले व्यक्त गरे । वडाध्यक्ष सिंहले बालविवाह जस्तै लागूऔषध विरुद्ध पनि अभियान संचालन गर्नुपर्नेमा जोड दिए । सो अवसरमा भगवति आधारभूत विद्यालयका प्रधानाध्यापक विरेन्द्र पूर्वेले आगामी शैक्षिक सत्रमा अंग्रेजी माध्यममा पनि कक्षा संचालन गर्ने घोषणा गरे । नवटोलीका सबै बालबालिका विद्यालय भर्ना रहेको जानकारी दिदै प्रअ पूर्वेले आगामी शैक्षिक सत्रमा पनि विद्यालय भर्ना अभियान नै संचालन गर्ने बताए । कार्यक्रममा स्थानीय रिना मण्डलले नवटोलीमा रहेको १ सय ६० घरधुरीका बालबालिका विद्यालयमा भर्ना रहेका र अव अभिभावकहरु पनि बालविवाह विरुद्धको अभियानमा सचेत भएको बताइन् । शिक्षक अभिभावक संघका अध्यक्ष रामेश्वर रायले विभिन्न जातिको बस्ती रहेको नवटोलीका अभिभावकहरु सचेत भएकाले अव बालविवाह जस्ता सामाजिक कुरीति अन्त्य हुने विश्वास व्यक्त गरे । कार्यक्रममा आसमान नेपालका प्राविधिक संयोजक रितु तिवारी, फिल्ड सुपरभाइजर रामविनय यादव लगायतको उपस्थिति रहेको थियो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech