जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिका–४ खजुरी चन्हा बालविवाह मुक्त वडा घोषणा भएको छ । वडाले आफ्नो विभिन्न तयारीका साथ आइतबार वडा घोषणा गरेको हो । घोषणासँगै जनकनन्दनी–४ धनुषा जिल्लाको पहिलो बालविवाह मुक्त वडा बनेको हो ।
गाउँपालिकाका स्थानीय, सरोकारवाला निकाय, समाजसेवी, महिला, बालबालिकाको उपस्थितिमा एक कार्यक्रमका बिच सो वडालाई स्थानीय सरकारले बालविवाह मुक्त घोषणा गरेको हो ।
हामी सबैको ऐक्यबद्धता, बालविवाह विरुद्धको साझा प्रतिबद्धता भन्ने मूल नाराका साथ जनकनन्दनी गाउँपालिका–४ बालविवाह मुक्त वडा घोषणा गरिएको हो । स्थानीय सरकारले २० वर्ष उमेर नपुगी विवाह गर्न नदिने भन्दै उक्त वडालाई बाल विवाह मुक्त वडा घोषणा गरिएको छ ।
केएचएस मावि खजुरीमा आयोजित एक समारोहका बीच जनकनन्दनी गाउँपालिकाका उपाध्यक्ष कमला सहगलले ब्यानर पढेर वडा नं. ४ बालविवाह मुक्त र पूर्ण विद्यालय भर्ना वडा घोषणा गरेकी छन् ।
वडाध्यक्ष दिलिप कुमार यादवको अध्यक्षतामा भएको समारोहमा उपाध्यक्ष सहगलले उमेर नपुगी हुने विवाहलाई बन्देज गर्ने निर्णय गरिनु सकारात्मक भएको भन्दै कार्यान्वयन पक्षलाई बलियो बनाउनुपर्नेमा जोड दिइन् । सानो उमेरमा गरिने विवाहले प्रजनन स्वास्थ्यमा असर परेको भन्दै यस्ता कार्यक्रम वडा कार्यालयले प्राथमिकता दिइएको उनले जानकारी दिइन् ।
बालविवाह विरुद्धको अभियानलाई पालिकाले प्राथमिकता साथ अघि बढाएको बताउँदै उनल अव अन्य वडाहरु पनि घोषणा गर्ने तयारी रहेको बताइन् ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा आसमान नेपालले संचालन गरेको बालविवाह न्युनिकरण परियोजना अन्तर्गत वडा नं. ४ लाई बालविवाह मुक्त घोषणा गरिएको हो । यसअघि जनकनन्दनी गाउँपालिकाको वडा नं. ५ का दुई वटा टोल बालविवाह मुक्त घोषणा गरिएको थियो ।
उमेर नपुगेर विवाह गर्दा महिलामा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या हुने गरेकाले बालविवाह जस्तो सामाजिक विकृति विरुद्ध सबै सचेत हुनुपर्नेमा उपाध्यक्ष सहगलले जोड दिइन् ।


गाउँपालिका उपाध्यक्ष सहगलका अनुसार बालविवाह मुक्त अभियानमा स्थानीय सरकारसँगै सरोकारवाला निकाय र स्थानीय गैरसरकारी संस्थाले खेलेको भूमिका अत्यन्तै प्रशंसनीय रहेको छ । आगामी दिनमा यस वडामा बालविवाह गरेको पाइएमा कानुनको दायरामा ल्याउने र तोकेको दण्ड पनि गर्ने उनले बताइन् ।
यस अभियानमा साथ दिने सङ्घ संस्थाहरूलाई धन्यवाद दिँदै बालविवाह शून्यमा झार्न सबैको उत्तिकै दायित्व हुने छ ।
सो अवसरमा वडा सचिव सुरेश यादवले प्रतिवेदन सार्वजनिक गर्दै वडाका ९६ प्रतिशत बालबालिका विद्यालय भर्ना रहेको बताए । १ हजार तीन सय ३१ घरधुरी रहेको वडा नं. ४ मा बालविवाहको घटना नभएको उनले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । ६ हजार पाँच सय १९ जनसंख्या रहेको उक्त वडामा बढी महिलाको संख्या रहेको छ ।
वडा सचिव यादवका अनुसार बालविवाहलाई कानुनले अपराध मानेको छ । तर कताकता हाम्रो समाजमा अपराधका घटना भइरहेका छन् । त्यस वडामा बालविवाह न्यूनीकरण गर्नका लागी आसमान नेपालले वडा स्तरीय संजालहरु परिचालन गरेको थियो ।
बालविवाह सम्बन्धी रणनीति जारी, बाल संरक्षण नीति लागु, बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका, बाल अधिकार संरक्षण समिति पालिका, वडा र विद्यालय स्तरमा क्रियाशील रहेको लगायतका मापदण्ड पूरा भएकाले वडालाई बाल विवाहमुक्त घोषणा गरिएको गाउँपालिकाले दाबी गरेको छ ।
सो अवसरमा समाजसेवहरुले कोही कसैले बालविवाह गरेको खण्डमा सरकारले दिने सेवा सुविधा रोक्नु पर्ने बताउँदै सरकारले गरेका राम्रा कामलाई सफल बनाउनका लागी नागरिकले सहयोग गर्नुपर्नेमा जोड दिए ।
धार्मिक मान्यताको रूपमा हुँदै आएको बालविवाहलाई अपराध वा घटनाको रूपमा बुझ्न वर्तमान समयको माग भएको उनीहरुले बताए ।
वडा नम्बर ४ का वडा सदस्य गणेशमान कामतले स्वागत मन्तव्य राखेको सो समारोहमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अयोधी दास, शिक्षा शाखा प्रमुख ऋषिकेश यादव, पंजिकरण शाखाका भरत यादव, आसमान नेपालका कार्यकारी निर्देशक दिनेश साह, कार्यक्रम व्यवस्थापक दिलिप यादव, प्राविधिक संयोजकहरु घुरन यादव, रितु तिवारी, रामकुमार महरा,  संजिव सिंह, फिल्ड सुपरभाइजर ब्रम्हदेव यादव, महेश यादव, राजेन्द्र सदाय, विनय यादव लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर