जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिका–१ बालाबाखरलाई बालविवाह मुक्त वडा घोषणा गरेको छ ।
बालविवाहलाई न्यूनीकरण गर्ने उद्देश्यले आधारभूत विद्यालय बेमरखिखालमा सोमबार आयोजित एक समारोहका बीच शहीदनगर नगरपालिकाका नगर प्रमुख दिनेश प्रसाद यादव र उपप्रमुख सुनिता सिंह लगायतले संयुक्त रुपमा वडा नं. १ बालाबाखरलाई बालविवाह मुक्त घोषणा गरेका हुन् ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा आसमान नेपालले संचालन गरेको बालविवाह न्युनिकरण परियोजना अन्तर्गत उक्त नगरपालिकाको वडा नं. १ लाई बलाविवाह मुक्त घोषणा गरिएको हो ।
यसअघि आइतबार मात्रै जनकनन्दनी गाउँपालिकाको वडा नं. ४ लाई बालविवाह मुक्त घोषणा गरिएको थियो ।
वडाध्यक्ष तेजीलाल यादवको अध्यक्षतामा भएको उक्त समारोहमा नगर प्रमुख यादवले बालविवाह जस्तो सामाजिक कुरीतिबाट नगरपालिकालाई मुक्त गर्ने गरी अभियान संचालन भइरहेको बताए । यो अभियानमा सहयोग गरिरहेका गैरसरकारी संघसंस्थालाई धन्यवाद ज्ञापन गर्दै नगर प्रमुख यादवले यो अभियानमा नगरपालिकाले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाए ।
उमेर नपुग्दै विवाह हुँदा महिलाले विभिन्न प्रकारको समस्याको सामना गर्नुपरेकाले यसतर्फ समाजलाई सचेत हुनुपर्ने आवश्यक्ता उनले औंल्याए । समाज सचेत भएमा यस प्रकारको कुरीति आफै अन्त्य भएर जाने नगर प्रमुख यादवले दावी गरे ।
बालविवाहविरुद्धको अभियानले सार्थकता पाएको छ, उनले भने–वडा नं. १ मा अव बालविवाह भएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गर्नुका साथै सरकारी सेवा सुविधाबाट समेत बञ्चित हुनुपर्ने भएकाले यसमा सचेत हुनका लागि उनले सबैमा आग्रह गरे । शहीदनगर नगरपालिकाको बालविवाह मुक्त हुने वडा नम्बर १ पहिलो वडा हो ।
सो अवसरमा उपप्रमुख सिंहले बालविवाह महिलाको लागि अभिसाप रहेकाले यसमा महिलाहरु सचेत हुनुपर्नेमा जोड दिइन् । महिलाहरु सचेत भए बालविवाह जस्तो घटना नहुने विश्वास उनले व्यक्त गरिन् । बालविवाहमा परेकी महिलाहरुलाई प्रजनन स्वास्थ्य सम्बन्धी समस्या, शिक्षामा पहुँच, शारिरिक विकास, मांसिक विकासको समस्या आउने भएकाले यसतर्फ सबैलाई सचेत हुन आवश्यक रहेको उपप्रमुख सिंहले बताइन् ।
उक्त वडामा विगत तीन वर्षको अवधिमा २० वर्षमुनिका बालबालिकाको विवाह नभएको र अब उपरान्त यसलाई निरन्तरता दिने भनी स्थानीयवासी र सरोकारवालाहरुको प्रतिबद्धता जनाएर यस वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको नगरपालिकाका बाल कल्याण अधिकारी रामसिकिल यादवले बताए ।
तीन वर्ष अघि ६५ प्रतिशत बढी बालविवाह रहेको उक्त वडामा हाल त्यो घटेर तीन प्रतिशतमा झरेको बाल कल्याण अधिकारी यादवले सार्र्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
वडा नं. १ मा रहेको १ हजार आठ सय ११ घरधुरी दुई हजार आठ सय १५ जना बालबालिका रहेका छन् । ती मध्ये दुई हजार सात सय ३३ जना बालबालिका विद्यालय भर्ना रहेको यादवले बताए । विद्यालय भर्ना नभएका बालबालिकामध्ये विभिन्न प्रकारको अपांगता भएका बालबालिकाहरु मात्र रहेको उनले बताए ।
बालविवाह मुक्तसँगै वडा नं. १ लाई पूर्ण विद्यालय भर्ना वडा घोषणा गरिएको हो ।


हामी सबैको ऐक्यबद्धता, बालबालिका विरुद्धको साझा प्रतिबद्धता र सबै बालबालिका पूर्ण समय औपचारिक दिवा स्कुलमा हुनुपर्छ भने नाराका साथ संचालन गरिएको अभियानलाई सफल पार्न भूमिका निर्वाह गरेका गैरसरकारी संघसंस्थाहरुलाई धन्यवाद ज्ञापन गर्दै वडाध्यक्ष तेजीलाल यादवले तीन वर्षमा सबैको प्रयासले वडालाई बालविवाह मुक्त घोषणा गर्न पाएको बताए ।
वडासदस्य सत्यनारायण यादवले स्वागत मन्तव्य राखेको सो समारोहमा स्थानीय समाजसेवीहरुले पनि बालविवाह विरुद्धको अभियानमा सबैको सहकार्यको आवश्यक्तामा जोड दिए ।
पूर्व शिक्षक समेत रहेका समाजसेवी रामअशिष यादवले बालविवाह विरुद्ध कुनै एक निकायले गरेको प्रयासले रोकिदैन् । यसमा सबैको सहयोग र सहकार्य आवश्यक छ । आ आफ्नो घरबाटै यो अभियानलाई अगाडि बढाउदा बढी प्रभावकारी हुने तर्क उनले गरे । बालविवाह मुक्त वडा घोषणा भएकोमा हर्षित हुँदै उनले अव यसको पालनामा ध्यान दिनुपर्नेमा जोड दिए ।
शहीदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश महतो लगायत कर्मचारीहरुको समेत उपस्थिति रहेको सो समारोहमा प्लान इन्टरनेशनल नेपालका क्षेत्रीय प्रबन्धक रविशंकर पण्डित, कार्यक्रम अधिकृत पुजा शर्मा, आसमान नेपालका कार्यक्रम निर्देशक दिनेश साह, कार्यक्रम व्यवस्थापक दिलिप यादव, प्राविधिक संयोजकहरु घुरन यादव, रितु तिवारी, संजिव सिंह, फिल्ड सुपरभाइजरहरुको उपस्थिति रहेको थियो । सो अवसरमा कानुन व्यवसायी रकी प्रसाद साहले बालविवाह विरुद्धको कानूनी व्यवस्थाबारे प्रकाश पारेका थिए ।

सम्बन्धित खवर