जनकपुरधाम । प्रा.डा. वसन्त कुमार कर्ण क्याम्पस प्रमुख नियुक्त भएदेखि रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसमा सुरु भएको विवाद बढ्दै गएको छ ।
पढाउनका लागि कहिल्यै कक्षामा नगएका कर्ण प्रमुख नियुक्त भएपछि प्राध्यापक र कर्मचारीहरु पनि आश्चर्यमा परेका थिए । प्रध्यापक र कर्मचारीहरुको विरोधका बाबजुद पनि उनी क्याम्पस प्रमुखको जिम्मेवारी सम्हले ।
गएको माघ २ गते क्याम्पस प्रमुखमा नियुक्त भएका उनी अहिले प्रध्यापकको तलब भत्ता नखुवाएर चर्चामा छन् ।
त्रि.वि.रजिष्ट्रार कार्यालयले क्याम्पस प्रमुख कर्णलाई अदालतको निर्णय अनुसार आंशिक प्रध्यापकहरुलाई तलब भुक्तानी गर्नका लागि निर्देश दिएपनि उनले अटेर गरेको त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ राराब क्याम्पस इकाई समितिका सभापति मुक्तिनाथ साहले आरोप लगाए ।
तलबको लागि दिएको समयसीमा बिहीबार सकिएपनि क्याम्पस प्रमुख कर्ण भने यसतर्फ चासो लिएको देखिएन् । उल्टै बिहीबार पत्रकार सम्मेलन गरेर उनले विद्यार्थी र कर्मचारीउपर गम्भीर आरोप लगाएका छन् ।
राराब क्याम्पसमा करिब १८ हजार विद्यार्थी अध्ययनरत्त रहेका छन् । चैत महिनाको पहिलो साता देशभरीका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन सम्पन्न भएपनि राराबमा भने हुन सकेको छैन् । क्याम्पस प्रमुख कर्णले उमेर हद कटिसकेका र चुनावमा पराजित हुने विद्यार्थीहरुले स्ववियुको निर्वाचन हुन नदिएको पत्रकार सम्मेलनमा आरोप लगाए ।
उनले विद्यार्थीको नाउँमा उच्छश्रृंखल तत्व रहेकाले राराब क्याम्पसको शैक्षिक अवस्था सुधार हुन नसकेको दावी गरे । क्याम्पसमा भएको तालाबन्दी खुलाउन नसकेर प्रा.डा. कर्णले उल्टै विद्यार्थीलाई म्याद नाघेका बताए ।


निर्वाचनको टिकट नपाएका र उमेर हद नाघेका नेताहरूले सातवटै विद्यार्थी संगठनहरुलाई प्रयोग गरेर तालाबन्दी गराएको उनले दावी गरे ।
पत्रकार सम्मेलनमा गएको चैत २१ गते दिउँसो क्याम्पसबाट बाहिरिने क्रममा केही व्यक्तिले गरेको कालोमोसोलाई रंगको संज्ञा दिदै यस्ता क्रियाकलाप कर्मचारीहरुको संलग्नतामा भएको आरोप लगाए ।
क्याम्पस प्रमुख कर्णले जिल्ला प्रहरी कार्यालय, धनुषामा दिएको उजुरी उपर कारबाही गर्दै आरोप लगाएको कर्मचारीसँग मिलापत्र भएर कालोमोसो दल्ने विषय समाधान भइसकेको छ ।
कालोमोसो नदलेर केही उच्छश्रृंखल व्यक्तिले रंग फालेर भागेको दावी गर्दै क्याम्पस प्रमुख कर्णले पत्रकार सम्मेलनमा आफ्नो कार्यकालको आफैले प्रशंसा गर्दै थिए ।
उनको आगमनपछि क्याम्पसमा काम गर्ने वातावरण नरहेको कर्मचारीहरुले दावी गरेका छन् । कार्यालयभन्दा घरबाटै क्याम्पस संचालन गर्न खोज्दा समस्या भएको कर्मचारीहरु बताउँछन् ।
प्रध्यापकहरुको माग सम्बोधन विषयमा प्रमुख कर्णले पत्रकार सम्मेलनमा केही बोलेनन । आफू क्याम्पसमा आएदेखि माफियाहरुको कमाई बन्द भएकाले आफू विरुद्ध लागेको दावी उनले गरे ।
प्राध्यापक संघका सभापति मुक्तिनाथ साह र सचिव डा. शिवेन्द्रलाभ कर्णलाई भेट्न नचाहेको, फोन नउठाउने तथा कार्यालयको कामकाज घरमै बसेर संपादन गर्दा क्याम्पस अस्तव्यस्त बनेको कर्मचारीहरुको दावी छ ।
उनले विज्ञान भवनबाट मोटरसाइकल चढेर बाहिर निस्कँदै गर्दा लुगामा मसि छर्किएको सामान्य घटनालाई ‘कालोमोसो दलिएको’ भनेर नियतबस प्रचार गरिएको दाबी समेत गरेका छन् । उनका अनुसार यो कार्य सुनियोजित हो । यसको मूल उद्देश्य आफूलाई बदनाम पार्दै संस्थागत सुधारका प्रयासहरूमा ब्रेक लगाउनु हो ।

सम्बन्धित खवर