जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको धनुषा जिल्ला अधिवेशन आउँदो बैशाख २५ गते भित्र हुने भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको अधिवेशन सम्पन्न भए लगत्तै जिल्लाको गरिने छ । जनकपुरधाम उपमहानगरपालिकाबाहेक १७ वटा पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ । शहीदनगर नगरपालिकामा अधिवेशन सम्पन्न भएपनि त्याहा नगर कार्य समिति गठनमा विवाद छ । अन्य पालिकामा भने अधिवेशन सम्पन्न भएर नयाँ कार्य समितिपनि गठन भइसकेको छ । जनकपुरधाम उपमहानगरपालिकामा पनि यसै साता भित्र अधिवेशन सम्पन्न गर्ने तयारी अगाडि बढाइएको नगर समिति अध्यक्ष बिष्णुदेव साहले बताए । पालिकाको अधिवेशन अन्तिम चरणमा रहँदा जिल्लाको नेतृत्व लिन नेताहरुले लविङ थालेका छन् । धनुषामा जिल्ला अधिवेशनको मिति नतोकिएपनि नेतृत्वका लागि नेताहरुले उम्मेदवार बन्ने चाहना प्रकट गर्न थालेका छन् । वर्तमान जिल्ला अध्यक्ष पशुपति यादव, सत्रुघन यादव, जयकुमार यादव, बरुण यादव र दिपिनदेव यादवले हालसम्म जिल्ला नेतृत्वका लागि दावी गरेका छन् । वर्तमान जिल्ला अध्यक्ष पशुपतिले कुशलतापूर्वक नेतृत्व गरिरहेका छन् । प्रदेशको राजधानीसमेत रहेको धनुषामा पार्टीको उपस्थिति, भूमिका, सक्रियताले देशमै प्रभाव पार्ने गरेकाले धनुषाको नेतृत्व चुनौतीपूर्ण रह्दै आएको छ । केही दिन अघि मात्र जसपा नेपाल फुटाएर जसपा गठन गरिएपनि धनुषामा भने पार्टीले खासै क्षति व्यहोर्नु नपरेको नेताहरुको दावी छ । पशुपति यादवको नेतृत्वमा रहेको जसपा नेपालले जिल्लामा बलियो उपस्थितिको प्रदर्शन गर्दै आएको छ । गएको अधिवेशनमा जिल्ला अध्यक्षमा पराजित सत्रुघन यादवले यसपाली पनि नेतृत्वमा दावी गरेका छन् । यता, विद्यार्थी नेताबाट मुलधारको राजनीतिमा प्रवेश गरेका बरुण यादवले पनि धनुषाको अध्यक्षमा दावी गरेका छन् । उनी विद्यार्थी संगठनको महासचिव हुँदै अहिले मुलधारको राजनीतिमा सक्रिय छन् । आफूले गरेको लगानीको मुल्यांकन पार्टीले गर्ने विश्वास बरुणको छ । मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले पनि जिल्लाको नेतृत्वको लागि दावी गरेका छन् । पार्टीमा डम्मी उम्मेदवार भनेर जयकुमार यादवको चर्चा छ । यद्यपी, जयकुमार भने सतप्रतिशत उम्मेदवारी दिने बताए । जिल्ला अध्यक्षमा आफ्नो उम्मेदवारी हन्र्डेड पर्सेन्ट हुने जयकुमारले बताए । घोषणा गरिसकेकाले अव पछाडि नहट्ने जयकुमारले प्रष्टयाए । जनकनन्दनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादवले पनि पार्टीको जिल्ला अध्यक्षमा दावी गरेका छन् । आफूले यसपाली जिल्ला अध्यक्षका लागि दावी गर्ने उनले बताए । आफ्नो नाउँमा सहमति भए ठीक छ, उनले भने–नभए निर्वाचनमा जान्छ । आफूले कुनै सर्तमा जिल्ला अध्यक्ष नछाड्ने दिपिनदेवले प्रष्टयाए । मधेश प्रदेशको राजधानी समेत रहेको धनुषा जिल्लाको नेतृत्व पार्टीमा महत्व राख्दै आएको छ । प्रदेशका पर्सा, रौतहट, महोत्तरी जिल्लामा अधिवेशन सम्पन्न भएर नयाँ कार्य समिति गठन भइसकेको छ भने सिरहा जिल्ला अधिवेशनको उद्घाटन सत्र सोमबार सम्पन्न भइसकेको छ । बारा जिल्लामा अधिवेशनको तयारी पूरा भइसकेको छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech