जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–६ बगेबा टोलमा बुधबार राति विहेमा विषाक्त खाजा खादा ९० जना सिकिस्त भएका छन् । सिकिस्त हुनेमा अधिकांश बालबालिका रहेका छन् ।
विषाक्त खाजा खाएर सिकिस्त हुनेमा ४५ जना जन्ती रहेका छन् । जन्तीको उपचार मिर्चैयास्थित स्वास्थ्य चौकीमा भइरहेको छ ।
बुधबार दिउँसै जन्तीका लागि तयार गरिएको खाजा बिहीबार बिहानमात्र बाँडिएको थियो ।
विषक्त खाजा खाएर बालबालिकासहित ४५ जना स्थानीय सिकिस्त छन् । उनीहरु मध्ये ४० जनाको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ भने चार जनाको लक्ष्मीनियाँस्थित सेन्ट्रल हस्पिटल र एक जनाको बाल अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवले बताए ।
यादवका अनुसार उनीहरुको अवस्था खतरामुक्त रहेको छ ।
राति तयार गरिएको खाजा बिहान ३ बजेतिर खादा बालबालिकाहरुले एक्कासी वान्ता गर्न थालेको थियो ।
एकपछि अर्को गरी वान्ता गर्नेको संख्या बढ्दै जाँदा स्थानीयले स्वास्थ्यकर्मीलाई खबर गरेका थिए ।
फूड प्वाइजनिङले बालबालिकाहरु सिकिस्त हुन थालेपछि आफूहरुलाई खबर गरेपछि त्याहा पुगेर उद्धार गरिएको यादवले बताए ।
सिकिस्त परेकालाई पालिकाको एम्बुलेन्सले अस्पताल पुर्याइएको छ ।
अस्पतालमा उनीहरुको उपचार भइरहेको र अहिले सामान्य हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताए ।
सिरहाको मिर्चैया नगरपालिका–१२ सिकरौन निवासी डोमादास तत्माको छोराको जन्ती बुधबार लक्ष्मीनियाँ गाउँपालिका–६ बगेबा पुगेको थियो ।
अबेरसाँझ मात्र बगेबास्थित लालु दासको घर पुगेका जन्तीहरु रमाइलो गर्नमा लागेपछि खाजा खुवाउन ढिलाई भएको वडा नं. ६ का वडाध्यक्ष महावीर साहले बताए ।
बिहीबार बिहान ३ बजेतिर मात्रै जन्तीसहित स्थानीयहरुलाई खाजा बाँडिएको थियो । खाजा खाएर हिडेका जन्तीलाई बाटोमै वान्ता हुन थालेको थियो । सिकिस्त भएका जन्तीको मिर्चैयामा उपचार भइरहेको छ ।
जन्तीहरुको स्वागतमा तयार गरिएको खाजा खादा बालबालिकाहरुले वान्ता (भोमिट) गर्न थालेपछि तत्काल जिल्ला स्वास्थ्य कार्र्यालय धनुषाका प्रमुख उमेश यादव नेतृत्वमा स्वास्थ्यकर्मीहरुको टोली त्याहाँ पुगेका थिए ।
खाजामा तीन प्रकारको मिठाई, लिट्टी, नमकीनहरु पस्किएको थियो ।
स्वास्थ्य निर्देशनालय र लक्ष्मीनियाँ गाउँपालिकाको स्वास्थ्य संयोजकसहितको टोलीले उनीहरुको उद्दार गरेर अस्पताल पुर्याएका छन् ।
बिहेको खाजा खाएर सिकिस्त भएकाहरुको उपचार भइरहेको र उनीहरु खतरामुक्त रहेको लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले बताए ।
स्वयम्बर कार्यक्रमपछि वितरण गरिएको खाजा खाएर तीन जना नाती र एक नातिनी सिकिस्त भएको स्थानीय कोशिला देवी दासले बताइन् ।
कोशिला दासकी १३ वर्षीया नातिनी रोशनी कुमारी, १० वर्षका नाती आर्यन दास, १८ वर्षीय नाती विक्की दास र दुई वर्षीय नाती प्रियांशु पनि सिकिस्त छन् । उनीहरुको उपचार प्रादेशिक अस्पतालमा भइरहेको छ ।
सरसजावटको कार्य गर्न धनुषाधामबाट आएका कालीगढ सुनिल कुमार मण्डल र आनन्द सिंह पनि खाजा खाएर सिकिस्त छन् ।

सम्बन्धित खवर