जनकपुरधाम । मधेश प्रदेशमा रहेका औंलो रोगका अधिकांश बिरामी आयातित रहेका छन् ।
विश्व औंलो दिवसको अवसर पारेर शुक्रबार धनुषाको सपहीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेशमा १ सय ३ जना औंलो रोगका बिरामी रहेको तथ्यांक सार्वजनिक गरिएको छ ।
स्वास्थ्य निर्देशनालयका फुलेन्द्र यादवले प्रस्तुत गरेको तथ्यांक अनुसार औंलो रोगका बिरामी सबैभन्दा बढी सर्लाही जिल्लामा रहेको छ । सर्लाहीमा ४८ जना बिरामी छन् भने सिरहामा यसको संख्या शुन्य देखाएको छ । सिरहामा जाँच नगरेकाले बिरामीको संख्या शुन्य रहेको फुलेश्वरले बताए ।
धनुषामा ८ जना, बारामा १४, रौतहटमा २२, पर्सा तथा सप्तरीमा ३/३ जना र महोत्तरीमा पाँच जना बिरामी रहेका छन् ।
प्रदेशमा रहेका औंलो रोगको बिरामी बढी भारतबाट फर्केकाहरु रहेका छन् । उनीहरु फर्किदा औंलो रोग लिएर आउने गरेकाले मधेशमा यसको संख्या बढ्दै गएको फुलेन्द्रले बताए ।
बिरामी रहेकामध्य ८९ जना १५ वर्ष माथिका रहेका छन् । यसले पनि औंलो रोगी बढी आयातित रहेको प्रष्टयाउँछ ।
स्वास्थ्य निर्देशनालयले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. विपिन कुमार झाले औंलो रोग केही दशक अघि नै निर्मुल भइसकेपनि आवासीय मजदूरहरुले गर्दा बिरामीको संख्या थपिएको बताए ।
उनले औंलो रोग नियन्त्रणतर्फ भए पनि आयातित औंलो मुख्य चुनौनी भएको बताए । उनले भने, ‘अहिले पुष्टि भएका १०२ जना औंलोका बिरामी प्राय सबै आयातित हुन् । भारत लगायत अन्य देशबाट फर्केर आएपछि औंलोको अनिवार्य जाँच हुने र त्यही क्रममा रोग पुष्टि भएको हो , अन्यथा समूदायमा लोकल लेबलमा यो वर्ष औंलोका बिरामी पुष्टि भएको छैन ।’
उनले आयातित केस रोक्न सके सन् २०२६ सम्म औंलो निवारण गर्ने लक्ष्यमा पुग्न सकिने समेत जनाए ।
तराई क्षेत्रमा र गर्मी ठाउँमा यो रोगको प्रकोप हुने भनिए पनि अहिले जलवायु परिवर्तनका कारण लामखुट्टे सबैतिर देखिन थालेको हुँदा औंलोका बिरामी देखिन थालेका छन् ।
हरेक वर्ष अप्रिल २५ तारिखका दिन औलो रोगबारे जनचेतना फैलाउने उद्देश्यले विश्वभर विविध कार्यक्रम गरेर विश्व औलो दिवस मनाउने गरिन्छ । पुर्नलगानी, पुर्न सोच र पुर्नजागरणः हामीबाटै औंलो निवारण नाराका साथ गरिएको कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक श्रवण नायकले औंलो रोगको जाँच, उपचार र औषधी सबै निःशुल्क रहेकाले यसबाट आत्तिनुपर्ने कुनै आवश्यक्ता नरहेको बताए ।
औंलो रोगको लक्षण देखिएमा स्वास्थ्य जाँच गराउन उनले सबैमा आग्रह समेत गरे । औंलो रोगबारे व्यापक प्रचार गरेर जनमानसमा रहेको भ्रम चिर्न सकिने तर्क उनको थियो । औंलो एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट हुने सरुवा रोग हो ।
कार्यक्रममा स्वास्थ्य निर्देशनालयका मेडिकल टेक्निसियन रामविनय साह, वरिष्ठ जनस्वास्थ्य प्रमुख डा. सतिशकुमार यादव, स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादव, तथ्यांक अधिकृत सुरेश यादव, ल्याब टेक्निसियन अधिकृत युगलकिशोर यादव, राजकुमार दास, राजनारायण साह, विश्व स्वास्थ्य संगठनका रंजित कुमार लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर