जनकपुरधाम । समाजवादी मुस्लिम संघ नेपाल जिल्ला कार्य समिति धनुषाको अध्यक्षमा कलिम राइनले दावी गरेका छन् । धनुषाको सबैलामा बिहीबार सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट आफ्नो नेतृत्वमा २१ सदस्यीय कार्य समिति चयन गरेको हो । यसअघि रहमत राइनले आफ्नो नेतृत्वमा समाजवादी मुस्लिम संघ, धनुषा कार्य समिति चयन भएको दावी गरेका थिए । रहमतलगायत केही मुस्मिल अगुवाहरुले धनुषाकै यदुकुहामा बिहीबार अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिएको दावी गरेका थिए । तर, उनीहरुले गरेको अधिवेशन आधिकारिक नरहेको बताउँदै कलिम राइनले जनता समाजवादी पार्टी (जसपा)नेपालका केन्द्रीय सल्लाहकार बिमल साहको उपस्थितिमा प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको बताएका छन् । समाजवादी मुस्लिम संघ नेपाल जिल्ला कार्य समिति धनुषाको लेटरप्याड प्रयोग गरेर कलिमले नव गठित जिल्ला कार्य समितिको उपाध्यक्षमा दुखि मंसुर, महिला उपाध्यक्षमा संजिला खातुन, सचिवमा अमिन राइन,सहसचिवमा अहमद राइन र कोषाध्यक्षमा किशोरी राइन चयन भएको जानकारी दिए । सदस्यहरुमा गफुर राइन, कुर्बान साफी, जोहेर राइन, अब्दुल जवार, सुल्तान राइन, अैलुन मंसुर, मकबुल राइन, सकिल हाफिज, अब्दुल समद, जुबेदा खातुन, अनिष राइन, मोमताज राइन, डिलो राइन, अब्दुल जबार शाह, हबिबुला राइन छन् । सबैला नगरपालिका–६ गोविन्दपुरस्थित पार्टी कार्यालय परिसरमा आयोजित प्रथम जिल्ला अधिवेशनले कार्य समिति विस्तार गर्दै १७ बाट २१ सदस्यीय पुर्याएको छ । यसअघि कलिम राइनको अध्यक्षतामा भएको प्रथम जिल्ला अधिवेशनको उद्घाटन सत्रमा जसपा नेपालका मधेश प्रदेश सदस्य सुकेश्वर यादव, जसपा नेपाल, सबैलाका नगर अध्यक्ष राजकुमार साह, बौद्धिक पेशाकर्मी संघका धनुषा अध्यक्ष ब्रजकिशोर यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech