जनकपुरधाम । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले भाटभटेनी लुटपाटमा संलग्न सहमहामन्त्रीको छोराको तस्वीर प्रतिनिधिसभामा सार्वजनिक गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई चुनौती दिएका छन् । जनकपुरधाममा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्री समेत रहेका सहमहामन्त्री यादवले भने–गएको चैत १५ गते भाटभटेनी लुटपाटमा कुन सहमहामन्त्रीको छोरा थियो ? तस्वीर सार्वजनिक गर्नुस । होइन भने हामी सहमहान्त्रीहरु तपाई विरुद्ध अदालत जान्छौ । गएको शुक्रबार राप्रपा अध्यक्ष लिङदेनले प्रतिनिधिसभामा आफ्नो धारणा राख्दै भाटभटेनीमा कांग्रेसका सहमहामन्त्रीको छोरा पनि पक्राउ परेको दावी गरेका थिए । गृहमन्त्रीको ठाडो आदेशमा सहमहामन्त्रीका छोरालाई तत्काल छाडेको भनेर प्रतिनिधिसभामा बताएका थिए । उनले राखेको अभिव्यक्तिको केही बेर नबित्दै केही मिडियाहरुले सहमहामन्त्री यादवको छोरा मुकेश यादव पनि भाटभटेनी लुटपाटमा पक्राउ परेको भनेर खबर प्रकासित गरेका थिए । तर, नेता यादवका दुई सन्ता मात्र छन् । डा. आकाश यादव र डा. विकास यादव । मांसिक तनाव र यसले गर्दा आफ्नो चरित्र हत्या भएको भन्दै सहमहामन्त्री यादवले लिङ्दने विरुद्ध अदालत जाने जानकारी दिए । उनले प्रतिनिधिसभामा गलत सूचना दिएर प्रतिनिधिसभा र जनतालाई भ्रमित गर्ने प्रयास गरेको नेता यादवले थपे । दुनियामा कतै नरहेको आदर्श र एजेण्डा लिएर राप्रपाले जनतालाई भ्रमित पार्न खोजेको आरोप नेता यादवले बताए । मृत राजतन्त्र अव भने कहिल्यै फर्केन आउदैन्, उनले भने–गणतन्त्रात्मक व्यवस्थालाई स्वीकार गरेर अघि बढ्नुस । लिङदेनको अभिव्यक्ति विरुद्ध नेपाली कांग्रेसले मधेश प्रदेशका आठै जिल्लामा आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ । यसअघि उनको विरोधमा धनुषाका कांग्रेसी कार्यकर्ताले जनकपुरधाम महेन्द्रनगर सडकखण्डको लक्ष्मीनियाँ बजारस्थित चक्काजाम गरेर लिङदेनको पुतला फुकेका थिए ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech