जनकपुरधाम । जिल्ला स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेशकुमार यादवले सामाजिक विकासमा तीनै तहबीच समन्वय आवश्यक रहेको बताएका छन् ।
जनकपुरधाममा शुक्रबार आयोजित सशक्त बालिका परियोजनाको जिल्लास्तरीय वार्षिक समीक्षा बैठकमा प्रमुख यादवले यस्तो धारणा राखेका हुन् । तीनै तह जनताकै लागि कार्यक्रमहरु गरिरहेका छन्, उनले भने–तर, समन्वय अभावमा डुप्लीकेशन भइरहेको छ । यसलाई रोक्नका लागि तीनै तहबीच समन्वय आवश्यक रहेको छ । सामाजिक रुपान्तरणकै लागि तीनै तह कार्यक्रमहरु संचालन गरिरहेपनि समन्वय अभावमा अपेक्षा अनुरुपको प्रतिफल प्राप्त हुन नसकेको उनले जिकिर गरे ।
महिला सशक्तिकरण, पोषण लगायतको क्षेत्रमा तीनै तहलाई गैरसरकारी संघसंस्थाले साथ दिएपनि त्यसको प्रभाव अपेक्षित नदेखिएको उनले थपे । आ आफ्नो भूमिका पहिचान गरेर अघि बढ्दा सामाजिक विकासमा लक्ष्य प्राप्तगर्न सकिने तर्क उनको थियो ।
प्लान इन्टरनेशनल नेपालको सहयोग तथा जिल्ला स्वास्थ्य कार्यालय धनुषाको समन्वयमा सामाजिक विकास र अनुसन्धान केन्द्र (एसडीआरसी) ले आयोजना गरेको बैठकमा सरोकारबालाहरुले उचित स्याहारको ढांचाका पाँच तत्वहरु पूरा गर्दा बालबालिका शारिरिक र मांसिक रुपमा बलियो हुने तर्क गरे ।
राम्रो स्वास्थ्य, उत्प्रेरणा र सिकाई, सुरक्षा र संरक्षण, संवेदनशील स्याहार र पर्याप्त पोषणको पालना गर्नुपर्नेमा उनीहरुको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय धनुषाका शिवजी दासले जिल्लामा हाल मोन्टेसरी शिक्षकको आवश्यक्ता औंल्याए । तालिम प्राप्त शिक्षक नहुँदा बालबालिकाको सिकाई उपलब्धी कमजोर बन्दै गएको उनको तर्क थियो ।
यता, प्रजनन स्वास्थ्यबारे कुरा गर्न नमान्ने ग्रामीण महिलाहरु अव भने खुल्न थालेकी छन् ।


बैठकमा सहभागी महिला स्वास्थ्य स्वयमसेविका रिनाकुमारी मण्डलले महिलाहरु खानेपानी तथा सरसफाईबारे सचेत बन्दै गएको बताइन् । केही दिन अघिसम्म यस्ता विषयहरु सुन्न नचाह्ने महिलाहरु आमा समूहमा आवद्ध भएपछि सुनेकोमात्र छैनन् अरुलाई पनि सुनाएकी छन् ।
सरसफाई तथा स्वच्छ खानेपानी आफ्नै स्वास्थ्यको लागि रहेकाले यसप्रति आमजनताको सचेतना वृद्धि हुँदै गएको मण्डलले आफ्नो अनुभव सुनाइन् ।
एसडीआरसीका सचिव सोनफी साहको अध्यक्षतामा भएको बैठकमा जनकनन्दनी गाउँपालिकाका स्वास्थ्य संयोजक सिकेन्द्र साहले पुरुष सत्रले बालबालिका स्याहारप्रति उनीहरुलाई गंभीर बनाएको बताए ।
सो अवसरमा प्लान इन्टरनेशनल नेपालका किरण भण्डारीले सशक्त बालिका परियोजना अन्तर्गत संचालन गरिएको क्रियाकलापबारे जानकारी दिएका थिए ।
सो अवसरमा एसडीआरसीका कार्यक्रम संयोजक विवश श्रेष्ठले वर्षदिनको गतिविधि सार्वजनिक गर्दै सशक्त बालिका परियोजना विदेह नगरपालिकाको सात र जनकनन्दनी गाउँपालिकाको पाँच वटा वडामा संचालनमा रहेको जानकारी दिए ।
घर बलियो जगले, राष्ट्र बलियो प्रारम्भिक बालविकासले भन्ने नारालाई सार्थक बनाउन बालविकासमा पढ्ने बालबालिकाको स्याहार, पोषणका लागि विभिन्न कार्यक्रमहरु संचालनमा रहेको कार्यक्रम संयोजक श्रेष्ठले बताए ।
श्रेष्ठले गएको २०२४ को जुलाईदेखि २०२५ को अप्रिल महिनासम्म ती वडाहरुमा संचालन गरिएको कार्यक्रमहरुबारे जानकारी दिएका थिए ।
सो क्रममा लिएको लक्ष्य र उपलब्धीबारे पनि उनले प्रष्टयाएका थिए । बैठकमा जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीसहित विदेह नगरपालिकाका स्वास्थ्य संयोजक मनोहर यादव, एसडीआरसीका अध्यक्ष मंजु यादव, प्राविधिक कार्यक्रम सल्लाहकार केदर साह लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग