जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा संचालित बालिका सशक्तिकरण (जीएसएस) परियोजनाको प्रारम्भिक बालविकास सम्बन्धी पालिकास्तरीय वार्षिक समीक्षा गोष्ठी सोमबार सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सपोर्ट नेपालले बालिका सशक्तिकरण परियोजना कमला नगरपालिकाको वडा नं. १, २, ३ र ४ मा संचालन गरेको छ । ती मध्ये वडा नं. १ र २ मा प्रारम्भिक बालविकास सम्बन्धी क्रियाकलाप गरिएको छ ।
नगर प्रमुख विशेश्वर यादवको अध्यक्षतामा भएको वार्षिक समीक्षा गोष्ठीमा परियोजना अन्तर्गत संचालन गरिएको क्रियाकलापबारे सपोर्ट नेपालका अनुगमन तथा मुल्यांकन अधिकृत अनिलकुमार साहले जानकारी गराएका थिए । साहले एक प्रस्तुतिकरण गर्दै २०२४ को जुन महिनादेखि २०२५ को अप्रिल महिनासम्म गरिएको क्रियाकलाप र त्यसले समाजमा पारेको प्रभावबारे चर्चा गरे ।
गर्भावस्थादेखि ८ वर्षमुनिका बालबालिकालाई प्रारम्भिक बालविकास भनिएको बताउँदै उनीहरुको स्याहार र आवश्यक पोषणयुक्त भोजन व्यवस्थानका लागि अभिभावकहरुलाई तालिमसँगै अभ्यास नै गराएको साहले बताए ।
महिलाकै जिम्मेवारी बुझ्ने मानसिकता रहेको बालबालिकाको हेरचाहमा अब भने पुरुषको पनि संलग्नता बढेको उनले बताए । परिवर्तनको संवाहक सीओसी कक्षामार्फत ती वडाका किशोरकिशोरीहरुलाई लैंगिक समानता, यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको बारेमा जानकारी प्राप्त भएको छ ।
परियोजना संचालनमा आएपछि दुवै वडाका विद्यालयमा प्रजनन स्वास्थ्यसम्बन्धी खुलेर पठनपाठन, बालिकाहरु आफ्नो समस्याहरु निर्धक्कसँग बोल्ने र छिटो विवाहको असरबारे जनचेतना वृद्धि अनुगमन तथा मुल्यांकन अधिकृत साहले जानकारी दिए ।
परियोजनाले मुख्यगरी स्वास्थ्य आमा समूह÷अभिभावक शिक्षाका सदस्यहरुलाई करेसावारी सम्बन्धी अभिमुखिकरण, स्वास्थ्यकर्मीहरुले अभिभावक शिक्षाको अनुगमन, खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम संचालन गरेको छ ।
सो अवसरमा नगर प्रमुख यादवले सामाजिक रुपान्तरणमा अहम भूमिका निर्वाह गरेकाले परियोजनाले अन्य वडाहरुमा पनि लागू गर्नुपर्नेमा जोड दिए ।
महिलाहरु अभिभावक शिक्षा समूहमा आवद्ध भएर करेसाबारीमा तरकारी फलाएका छन्, उनले भने–यसप्रकारको कार्यले अन्य महिलापनि प्रेरित हुन्छ ।
बालिका सशक्तिकरण परियोजनाले गर्भावस्थादेखि ८ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरेर संचालन गरेको प्रारम्भिक बालविकास सम्बन्धी क्रियाकलाप प्रभावकारी रहेको नगर प्रमुख यादवले जिकिर गरे ।
परियोजनालाई निरन्तरता दिनुपर्नेमा जोड दिदै नगर प्रमुख यादवले नगरपालिकाको सहयोग र समन्वय आगामी दिनमा पनि कायम रहने जानकारी दिए ।
समाज उत्थानमा बालिका सशक्तिकरण परियोजनाले खेलेको भूमिका सराहनीय छ, उनले भने–यस प्रकारको परियोजनाहरु आगामी दिनमा पनि संचालन गर्नुपर्छ ।
सो अवसरमा कमला नगरपालिकाका योजना शाखा प्रमुख विरेन्द्र कुमार सदानले परियोजना संचालनको लागि नगरको तर्फबाट समन्वय गर्न तयार रहेको बताए ।
गोष्ठीमा सपोर्ट नेपालका कार्यक्रम संयोजक संजिवकुमार जोशीले स्वागत मन्तव्य राख्दै समीक्षा गोष्ठीको औचित्य प्रष्टयाएका थिए । सो अवसरमा कमला नगरपालिका वडा नं. २ का वडाध्यक्ष ठकु यादव, स्वास्थ्य संयोजक रामकुमार ठाकुर, महिला तथा बालबालिका शाखाका कमलीकुमारी यादव लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग